वडामै योजना सम्झौता, वडाबाटै चेक

नारायण न्यौपाने/पाल्पा,चैत्र ७/जनतालाइ सजिलो हुने गरी सेवा दिन गुल्मीको छत्रकोट गाउँपालिकाले उदाहरणीय कामको प्रारम्भ गरेको छ । गाउँपालिकाको कार्यलयमै आएर सम्झौता गरिने योजना सम्बन्धित क्षेत्रका कर्मचारी सोहि वडामै गएर गर्ने र भुक्तानि पनी वडाबाटै गरिने प्रशासकीय अधिकृत दामोदर भण्डारीले बताउनु भयो । यो कामको शुरुवात समेत भएको छ । गाउँपालिकाको कार्यलयमा धाइरहन पर्ने, कागजात नपुग्ने, टाढा टाढाबाट आउदा समय खर्च हुने तथा आर्थिक बोझ हुने समस्या भोगिरहेका उपभोक्तालाइ यो कामको शुरुवातले ठुलो सहयोग पुगेको छ । ‘गाउँपालिकाबाट प्रदान गरिने सेवालाइ सजिलो र सरल बनाउदै लैजाने क्रममा वार्डमा गएर योजनाको सम्झौता गर्ने काम गरेका छौँ’ प्रशासकिय अधिकृत भण्डारीले भन्नुभयो, ‘भुक्तानि पनि वडाबाटै गर्ने लक्ष्य अनुसार वडा नम्बर १ हुँगामा भकारो सुधार गर्ने कार्यक्रम अनुसार काम सम्पन्न गरेका किसानहरुलाइ चेक हस्तान्तरण गरियो ।’

गाउँपालिकाले सबैलाइ सम्बोधन गर्नका लागि टुक्रे योजना बनाएको र सानो रकम लिन आउनुपर्दा पाउने पैसा भन्दा बढि खर्च हुने भएकाले वडामै गएर चेक दिने ब्याबस्था मिलाएको भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘जिप रिजर्व गरेर चेक लिन आउनुपर्छ, बेकारमा उहाँहरुको खर्च भैरहेको हुन्छ । आवस्यक कागजात तयार गर्न चेक लिस्ट दिएका हुन्छौँ, त्यस अनुसार भए नभएको वडा अध्यक्ष र सचिवले हेर्नुहुन्छ । आवस्यक कागजात पुगेपछी हामि कर्मचारी पुगेर चेक दिन्छौँ । हामि यस्तो कामका लागि फिल्डमा जाँदा भक्ता वा अतिरिक्त सुविधा पनि लिदैँनौँ ।’

छत्रकोट गाउँपालिका १ का वडा अध्यक्ष धातानन्द भण्डारीले साविकको गाबिसमा भन्दा वडा भएपछी जनताले दुःख पाएको अनुभुती भएकाले वाडबाटै योजना सम्झौता र प्रक्रिया पुगेपछी वाडमै चेक उपलब्ध गराउने काम गरेको बताउनुभयो । ‘अहिले हामीले भकारो सुधारको अनुदान रकम १० हजार चेक मार्फत दिएका छौँ, भण्डारीले भन्नुभयो, ‘त्यही १० हजार लिन ५ पटक जानुपर्छ अनि अनुदान भन्दा दुःख बढि भएन र ? यसैले सक्ने जती सेवा वडाबाट दिनुपर्छ भन्ने लागेर काम गरेका हौँ, यो अरुले पनी सिक्दा राम्रो हुन्छ ।’

निर्वाचनको समयमा जनताको घरदैलोमै सेवा दिने वाचा गरेका जनप्रतिनिधी र सरल सेवा दिने आश्वासन बाँडेका प्रशासकको कामको छत्रकोटबासी जनताले प्रशंसा गरेका छन । स्थानिय झविन्द्र कार्कीले यस्तो कामले खुशि लागेको भन्दै एकजना प्रशासक राम्रो हुँदा समाज खुशि हुने प्रतिक्रिया दिनुभएको छ ।
Photo: Damodar Bhandari Facebook

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.