हार्डवेयर पसलमा आगलागी,समयमै दमकल नपुग्दा करोडौंको क्षति

लमजुङको बेंसीसहर नगरपालिका–८ दनाई फाँटमा रहेको बेसीशहर हार्डवेयर पसलमा आगलागी भएको छ । बेसीशहर १० बाँझखेतका गंगाबहादुर थापाको पसलमा आइतबार बेलुकी साढे १० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर ओमप्रकाश पुनको नेतृत्वमा ३५ जनाको टोली र सशस्त्र प्रहरीका असई प्रेम भुजेलको नेतृत्वमा १४ जनाको टोली घटनास्थलमा पुगेको थियो । रातको साढे १० बजे आगलागी भएपनि दमकल भने साढे ११ बजेमात्र घटनास्थलमा पुगेको स्थानीय डोलराज विष्टले बताए । उनले भने ‘समयमै दमकल पुगेको भए क्षति कम हुने थियो ।’

विष्टका अनुसार समयमै दमकल नपुगेको र घटना भएको एक घण्टा ढिलो गरी पुगेको दमकलमा पानी नहुँदा आगो निभाउन समस्या भएको थियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगद लगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा पनि क्षति पुगेको छ । आगलागी के कसरी भयो भन्ने यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट पसलका सबै सामान जलेका छन् । आगलागीबाट १ करोड २५ लाख क्षति भएको हार्डवेरका सञ्चालक गंगाबहादुर थापाले बताए । आगो नियन्त्रणमा लिने क्रममा बाराको देउताल गाउँपालिका–४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । लमजुङका आठ वटा स्थानीय तहमध्ये बेसीशहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकलको व्यवस्था छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.