‘कोरोनाका कारण बालबालिकामा ठूलो असर, १० प्रतिशतको नियमित खाना नै कटौती’

बैशाख १५, २०७८ बुधबार ,काठमाण्डाै – कोरोना महामारीको कारण बालबालिकाको चौतर्फी विकासमा ठूलो नोक्सान पुगेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ नेपाल, शेयरकास्ट सहितका सङ्घ–संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले बालबालिकाले पर्याप्त खाना नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेको र परिवार गरिबीमा धकेलिँदा उनीहरूको चौतर्फी विकासमा ठूलो नोक्सानी पुगेको देखाएको छ ।

गएको मे महिनादेखि ६ पटकसम्म गरेर ६ हजार घरपरिवारमा अध्ययन गरिएको थियो । अध्ययनका अनुसार गएको वर्ष चैत ११ देखि भएको लकडाउनको सुरुमा ९० प्रतिशत बालबालिका पढाइबाट वञ्चित भएका थिए भने अनलाइन कक्षा सुरु भएपछि जम्मा ३० प्रतिशत बालबालिकाले मात्रै पढ्न पाएका थिए । यसरी पढ्न पाउनेमध्ये धेरै सम्पन्न परिवारका बालबालिका मात्रै थिए ।

यस्तै गएको अगस्ट महिनासम्म २० प्रतिशत घरपरिवारले खाद्यान्नकै लागि सङ्घर्ष गर्नुपरेको थियो भने अहिले पनि १० प्रतिशत घरपरिवारका बालबालिकाले नियमित खानामा कटौती गर्नुपरेको देखिएको छ ।

यस्तै १० प्रतिशत परिवारले होम आइसाेलेशनकाे व्यवस्था गर्न असमर्थ रहेको बताएका छन् भने गरिबीकै कारण कोरोना महामारीबाट बच्न अपनाउनुपर्ने सुरक्षा मापदण्डको पालनामा कमी आएको देखिएको छ ।

यस्तै समुदायमा बालबालिका र महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका घटना बढ्दै गएको, बाल श्रम, बालविवाह र बेचबिखनका घटना पनि बढ्दै गइरहेको उत्तरदाताले बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । युनिसेफले बालबालिकाको शिक्षा र पोषणका लागि ६ हजार घरपरिवारका १० हजार बालबालिकालाई दुई हजार रुपैयाँका दरले सहयोग गरेको पनि जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.