दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन हुँदै, विदेशबाट सिलिण्डर मगाउने सरकारको तयारी

बैशाख २२, २०७८ बुधबार ,काठमाण्डौ – देशभर रहेका अक्सिजन उद्योगबाट दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । काठमाण्डाैमा ८ सहित देशका विभिन्न ठाउँमा रहेका २० वटा उद्योगबाट अहिले अक्सिजन उत्पादनको काम भइरहेको व्यवसायीहरुले बताएका छन् । सीमित सिलिण्डरका कारण भनेजति अक्सिजन उत्पादन गर्न नसकिएको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताउनुभएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले आवश्यक सिलिण्डरको बन्दोबस्त भएमा आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा चौबीसै घण्टा अक्सिजन उत्पादनमा आफूहरु खटिएको भन्दै उहाँले सिलिण्डरको मात्रै व्यवस्थापन हुने हो भने केही सहज हुने बताउनुभयो ।अस्पतामलमै भर्ना गरेर राख्नुपर्ने कोरोना संक्रमितको संख्या हरेक दिन बढेसँगै अक्सिजनको माग पनि बढ्न थालेको छ । हरेक दिन अक्सिजन सिलिण्डरको माग बढिरहेको र यही रफ्तारमा माग बढ्ने हो भने धान्न सक्ने अवस्था नै नरहेकोले तत्काल चाहिने बन्दोबस्त गर्न अक्सिजन उत्पादन गर्ने व्यवसायीहरुको माग छ ।

कोरोना महामारी आउनुभन्दा पहिले नै आफूहरुले आवश्यक प्रबन्ध मिलाउन भने पनि सरकारले वास्ता नगर्दा अहिले यो अवस्था आएको उनीहरुको भनाइ छ ।महासचिव तिमल्सिना भन्नुहुन्छ, – ‘अक्सिजन उत्पादनका लागि आवश्यक प्रबन्ध मिलाइदिन सरकारसँग धेरैपटक आग्रह गर्‍याैँ, अहिले आएर हतारो भएको छ । त्यतिबेलै हामीले भनेजसरी व्यवस्थापन गरेको भए यो अवस्था आउने नै थिएन ।’यस्तै बिरामीको घर र अस्पतालमा त्यसै राखिएका अक्सिजन सिलिण्डरको संकलनको काम भइरहेको सरकारले जनाएको छ । नपुगे विदेशबाट समेत ल्याउन सबै बाटो खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभएको छ ।

डाक्टर अधिकारी भन्नुहुन्छ, ‘भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रहेकोले भारतबाहेक अरु देशबाट खाली सिलिण्डर ल्याउन सबै ढोकाहरु खुला गरेर राखेका छौँ । अवस्था कस्तो आउँछ, विदेशबाट ल्याउनुपर्ने अवस्था भयो भने त्यसै अनुसार काम गछौँ । तर, बिरामीलाई समस्या हुने अवस्थामा हात बाँधेर बस्दैनौँ ।’सरकारले चीनबाट २० हजार खाली सिलिण्डर ल्याउने निर्णय गरिसकेको छ । अहिले स्वास्थ्य संस्थाहरुमा ६ देखि ७ हजार सिलिण्डरहरु रहेका छन् । यस्तै व्यवसायीसँग पनि सिलिण्डरहरु रहेका छन् । अस्पताल, नीजि क्षेत्र र उद्योगमा रहेका सिलिण्डर प्रयोग गर्दासमेत नपुग्ने अवस्था आयो भने त्यतिखेर नै आवश्यक बन्दोबस्त मिलाइने तर अभाव नै हुन भने नदिने प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको छ । एउटा प्लान्टबाट हरेक दिन ४७ लिटर क्षमताका ५ सय वटा सिलिण्डरमा ग्यास भर्न सकिने क्षमता रहेको छ । कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढिरहेकोले अक्सिजन उत्पादन गर्ने क्षमतासँगै खाली सिलिण्डरको बन्दोबस्त बेलैमा गरे भारतको जस्तै हविगत नेपालले भोग्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.