ताप्लेजुङमा ‘दक्षिण एसियाकै नमुना’ वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्दै

बैशाख २९, २०७८ बुधबार ,ताप्लेजुङ – ताप्लेजुङमा ‘दक्षिण एसियाकै नमुना’ का रुपमा जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । अहिलेसम्ममा भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ । भवनको जग अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा बसेको छ । वातावरणमैत्री भवन भएकाले स्थानीय जैविक सामग्री प्रयोग गरिएको छ । भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ ।

भवनको भुइँ तलामा काटेको ढुङ्गा प्रयोग गरिएको छ भने माथिल्लो तलामा काठ प्रयोग गरिएको छ । एक करोड ५० लाख रुपैयाँको ठेक्कामा निर्माण सुरु गरिएको भए पनि अहिलेसम्म एक करोड ७५ लाख रुपैयाँ सकिएको ठेकेदार कम्पनीका अमृत भट्टराईले बताउनुभयो । हिमालयन रेडपाण्डा नेटवर्कले निर्माण गरिरहेको यो भवनको इन्जिनियर सागर पोखरेलले रेखदेख गरिरहनुभएको छ । भवनमा प्रयोग भएका धेरैजसो सामग्री स्थानीय उत्पादन हुन् । ती सामग्रीलाई मात्रा मिलाएर प्रयोग गरिएका छन् । चार बकेट माटोमा एक बकेट खरानी, एक बकेट अण्डाको खोल, एक बकेट गाईको गोबर र आधा बकेट पराल प्रयोग गरेर मात्रा मिलाइएको छ । झट्ट हेर्दा कंक्रिट ढलान झैँ देखिए पनि नियालेर हेर्दा फरक छुट्याउन सकिन्छ ।

देउराली भित्री सामुदायिक वन उपभोक्ता समिति सचिव पासाङरीता शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय पर्यटन प्रवद्र्धनमा यो भवनले सहयोग पुग्ने सचिव शेर्पाले बताउनुभयो । भवन बनाउन हिमाली संरक्षण मञ्चले स्थानीय र सम्बन्धित कार्यालसँग समन्वय तथा सहकार्यका लागि पुलको भूमिका निर्वाह गरेको छ । हिमाली रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले भन्नुभयो, ‘पहिला बनाउन र बनिसकेपछि कसरी व्यवस्थापन गर्ने भन्नेमा सजग छौँ । यद्यपि स्थानीयवासीको जागरुकताले सहज व्यवस्थापन हुनेमा ढुक्क छौँ ।’

नेपालीमात्र नभएर विदेशीका लागि पनि वन तथा वन्यजन्तुका बारेमा अध्ययन गर्न यो भवन दक्षिण एसियाकै नमुना हुने विश्वास लिएको संयोजक राईले बताउनुभयो । यो भवन रेडपाण्डा (हाब्रे) मात्र नभएर अरु वन्यजन्तुका लागि पनि नमुना केन्द्र हुने उहाँको भनाइ छ । बर्सेनि पाथीभरा दर्शनका लागि र कञ्चनजङ्घा जानका लागि यही बाटो भएर हिँड्ने हुनाले दर्शनार्थी र पर्यटकलाई पाथीभरा अध्ययन केन्द्रको अवलोकन गराउने अर्गानिक खानाको स्वादमा होमस्टेमा राख्न सकिने योजना रहेको संयोजक राईले बताउनुभयो । लेकाली जीवनशैली, भाषा, संस्कार र संस्कृति, रहनसहन, खेतीपाती, खानपान, शेर्पा समुदायको स्याब्रु नृत्य र लिम्बु समुदायको च्याब्रुङ नृत्यलगायतका विविधताको संरक्षणका लागि यो केन्द्र योग्य साबित हुने विश्वास लिइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.