‘चाइनिज ताइपेईसँग नेपालले अट्याकिङ फुटबल खेल्याे’

जेठ २१, २०७८ शुक्रबार ,काठमाण्डाै – विश्व कप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीवार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकाल्यो । मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको पहिलो परीक्षामा शत प्रतिशत नतिजा निक्लिएको छ । युवा खेलाडी समेटिएको टोलीले प्राप्त गरेको नजिताले नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियाे बनेकाे छ ।

घरेलु मैदान दशरथ रङ्गशालामा हुनुपर्ने चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले बिहीवार तटस्थ स्थल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा खेल्यो । पहिलो लेगमा सुखद नतिजा निकालेको नेपालले दोस्रो लेगमा पनि चाइनिज ताइपेईलाई दुई–शून्यले हरायाे । इराकसँगको मैत्रीपूर्ण खेलमा बलको पकडलाई गुमाएको टोलीले चाइनिज तइपेईविरुद्धको खेलमा काउन्टर गर्दै दबाब दिएको राष्ट्रिय टोलीका रक्षक विक्रम लामाले टिप्पणी गरे । पहिलो लेगमा चाइनिज ताइपेई भ्रमण गर्दाका टोली सदस्य विक्रम अहिले घुँडाको चोटका कारण आराम गरिरहेका छन् । यसअघिका खेलमा नेपालले रक्षात्मक खेल खेल्ने रणनीति अपनाउँदै आएको तर बिहीवारको खेलमा नेपालले अट्याकिङ रणनीतिमा बढी ध्यान दिएर खेलेको विक्रमले थपे ।

छनोट चरणको प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ६–२ ले पराजित नेपाल स्तब्ध भएको थियो । यद्यपि फिफा वरीयतामा नेपाल निकै माथिरहेको र एसियाको पावर हाउसमा गनिने इराकसँग प्रतिस्पर्धात्मक खेल खेल्नुले नेपाली टोलीको मनोबल बढेको थियो । साथै युवा र नयाँ खेलाडीसँग पाका खेलाडीको संयोजनले टोलीले राम्रो नतिजा निकाल्न सफल भएको डिफेन्डर विक्रमले बताए । बिहीवार नेपालको पक्षमा जित निक्लिँदा पहिलो लेगमा दुई गोल गरेका अञ्जन विष्टले पेनाल्टी अवसरबाट नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल नवयुग श्रेष्ठले गरेका थिए । चौथो मिनेटमा चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी क्षेत्रमा बल रोक्ने क्रममा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहारमा आएका अञ्जन विष्टले अवसरलाई सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए । सुरुवाती अग्रता निकालेसँगै दबाब दिएर खेलेको नेपालका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुगले ८१ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

चाइनिज ताइपेईविरुद्ध दोस्रो लेगमा निकालेको जितलाई प्रशिक्षक अलमुताइरीले कोरोना भाइरससँग लड्नका लागि स्वास्थ क्षेत्रमा खटिएका अग्रपङ्क्तिका स्वास्थकर्मीलाई समर्पण गरेका छन् । खेलपछिको पत्रकार सम्मेलनमा अलमुताइरीले स्वास्थकर्मीलाई जित सुम्पिएका हुन् समूह ‘बी’ मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अङ्क नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेईविरुद्ध नै तीन अङ्क जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.