शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा किताब पुग्ने केन्द्रको दाबी

जेठ २७, २०७८ बिहिबार ,काठमाण्डाै – कोरोना र निषेधाज्ञाका कारण यो वर्षको शैक्षिक सत्र ढिला गरी असारदेखि सुरु हुँदैछ । अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु भएको पाँच/छ महिना बित्दासमेत विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे । तर यो वर्ष पाठ्यपुस्तक विद्यार्थीसम्म समयमै पुग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । कक्षा एकदेखि १० सम्मका सबै पाठ्यपुस्तक अहिले सातवटै प्रदेशको प्रादेशिक केन्द्रमा पुर्याइ सकिएको र देशभर रहेको एघार सयभन्दा धेरै बिक्रेताहरुबाट बिक्रीवितरण भइरहेको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘प्रदेश-१ को विराटनगर, दुई नम्बर प्रदेशको जनकपुरमा रहेको प्रादेशिक कार्यालयमा किताब पुर्याइ सकिएको छ।’ वाग्मती प्रदेशको लागि केन्द्रबाट पनि बिक्रीवितरण हुने गरेको छ । यस्तै चितवनको भरतपुरमा रहेको कार्यालयबाट वाग्मती प्रदेशका केही जिल्ला र दुई नम्बर प्रदेशका केही जिल्लामा किताब बिक्री हुने गरेको छ । नवलपरासी, बुटवल, नेपालगञ्ज र पोखरामा पनि केन्द्रीय कार्यालयहरु रहेका छन् । यस्तै सुर्खेत र धनगढीमा रहेका प्रादेशिक कार्यालयहरुमा पनि किताब पुगिसकेका छन् ।

केन्द्रले गर्नुपर्ने सबै काम पूरा गरिसकेकाले अरु खालका समस्या नभएमा शैक्षिक सत्रको सुरुवातमै सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने उहाँले बताउनुभयो । सातवटै प्रदेशको प्रादेशिक कार्यालयमा किताब पुगिसकेको भए पनि निषेधाज्ञाका कारणले देशको कुनाकाप्चासम्म पुग्नका लागि केही समय भने लाग्न सक्ने उहाँको भनाइ छ । शैक्षिक सत्र असारदेखि सुरु हुने भए पनि केही समय भर्ना अभियान चल्छ । त्यसपछि पढाइ सुरु हुँदासम्म विद्यार्थीको हातहातमा किताब पुगिसक्ने पनि आचार्यले बताउनुभयो । निषेधाज्ञाका कारण ढुवानीमा समस्या हुन नदिन सम्बन्धित पालिकालाई समन्वय गरिदिन पनि केन्द्रले आग्रह गरेको छ ।

दुई/तीन वर्षयता फाट्टफुट्ट रुपमा बाहेक किताब अभाव भएको गुनासो आएको छैन । ‘हामीले केही वर्षयता समयै पाठ्यपुस्तक छपाइ गर्ने गरेका छौँ । किताब कुनै सिजनमा छाप्ने होइन, वर्षभरि नै छाप्ने हो । अहिले पनि हामीले अर्को शैक्षिक सत्रका लागि किताब छापिरहेका छौँ ’ आचार्यले भन्नुभयो । यो शैक्षिक सत्रका लागि एक करोड ८४ लाख थान किताब छापिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.