बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने

असार ५, २०७८ शनिबार ,काठमाण्डाै – नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताउनुभएको छ । शनिबार नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्नेकुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताउनुभएको हो । उहाँले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पुर्याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई स्वयम्सेवी भाव जगाउने पनि बताउनुभयो ।

‘स्काउटको संरचना स्थानीय तहसम्म गएको छ । विद्यालयमा स्काउट पुर्याउने काम बजेटमै आएको छ । पाठ्यपुस्तकमै ६ कक्षमा आइसकेको छ ।’ उहाँले भन्नुभयो – ‘अब शिक्षकहरुलाई तालिम दिने र उनीहरुले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयम्सेवी भाव जगाउने, सवल व्यक्ति, सक्षम व्यक्ति बन्नका लागि, सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउने, नैतिक शिक्षा दिएर आदरभाव सिकाउँछौँ ।’

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताउनुभयो । समाजमा स्वयमसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयमसेवी बनाउने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.