विपदमा राजनीति भन्दा ठूलो नागरिक : अध्यक्ष दाहाल

असार ८, २०७८ मंगलबार ,चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा नागरिककाे जिउधन भन्दा ठूलो अरू नहुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विपदमा राजनीति भन्दा ठूलो नागरिक हुने बताउनुभएको हो । बाढी–पहिरोमा परेका नागरिककाे उद्धार र उनीहरूको व्यवस्थापनसँगै क्षति न्यूनीकरण पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘विपदमा राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’ अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरिकाले लागि परेको बताउँदै उहाँले यो सबै दोस्रो प्रथामिकता भएको बताउनुभयो ।

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आउनुभएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमा नै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताउनुभयो । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा नागरिक त्रास बढेको उहाँको भनाइ थियो । अहिलेको व्यवस्थापन कमजाेर भएको भन्दै उहाँले नारायणी नदीको फाइदा र जोखिमको आँकलन गर्दै काम अघि बढाउनुपर्ने जानकारी दिनुभयो । नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरू हिजोको आवश्यकतालाई मध्यनजर गरेर बनाइएका हुन् । ती नीति, ऐनहरू बदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।’

फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले वर्तमान सरकारले चितवनलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.