काठमाण्डौका नदी खोलामा पनि पानीको सतह बढ्यो

असार १२, २०७८ शनिबार काठमाण्डाै – मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाण्डौ लगायत देशका अधिकांश स्थानहरुमा वर्षा भएको छ । शुक्रबार साँझ देखि नै काठमाण्डौ उपत्यका लगायत देशका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाण्डौको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाण्डौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ । यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा वर्षा हुने क्रम रोकिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.