एउटै ट्याङ्करले गरायाे दुईटा दुर्घटना, दुई बालिकाको ज्यान गयाे

असार १२, २०७८ शनिबार ,सप्तरी – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-२ मा एउटै ट्याङ्करले दुई किलोमिटरकाे दुरीमा दुईवटा माेटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आज दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्कर दिएकाे हो । त्यस दुर्घटनामा माेटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधाकुमारी प्रमाणीको ज्यान गएको छ । त्यही मोटरसाइकलमा सवार यसोधाकी​ आमा ३२ वर्षीया सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि त्यही ट्याङ्करले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडि बसेका कञ्चनरुप नगरपालिका–६ घोघनपुरका मो‍.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको ज्यान गएको छ । यसैगरी त्यही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियामा रहेकाे एक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताउनुभयो । यसैबीच दुर्घटना लगत्तै स्थानीयबासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्याङ्कर चलाउने चालकलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.