बाढीले झोलुङ्गे पुल बगायाे, मनाङको तल्लो पिसाङ जोखिममा

असार १६, २०७८ बुधबार ,मनाङ – मर्स्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङमा रहेकाे झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी पहिरोले सुरुवातमा मनाङको तल्लो भागमा क्षति पुर्‍याएकाे भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पुर्‍याएकाे थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ, उहाँले भन्नुभयो, निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँ बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकआपसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नागरिककाे सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकाले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ । पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उहाँको भनाइ छ । बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.