कुटनीतिक प्रयास ‘फेल’ हुँदा सरकारले काेराेना खाेप ल्याउन सकेन : जितेन्द्रनारायण देव

असार २३, २०७८ बुधबार ,काठमाण्डाै – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड १९ विरुद्धको खोप आउन नसकेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकार काेराेना खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको हो । अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयास असफल भएको राष्ट्रिय सभा सदस्य देवले टिप्पणी गर्नुभयो ।दक्षिण एसियाको सन्दर्भमा अमेरिकी सरकारको सहजीकरणमा २५ लाख डोज बङ्गलादेशलाई उपलब्ध भएको र त्यही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज खाेप पठाउने कुरा भइरहेको तथा श्रीलङ्कामा पनि अमेरिकी सरकारको संयोजकत्वमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उहाँले सरकार किन फेल भयो ? भनी प्रश्न गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य देवले भन्नुभयो, ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रूपमा फेल भएको स्थिति छ । कुटनीतिक प्रयास फेल भएको छ । यो कसरी भयो ? किन फेल भयो ? ती देश र ती कम्पनीसँग नेपालको सम्बन्ध किन चिसो भयो ? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन् ? दक्षिण एसियाका चार देशले ल्याउन सफल भए, नेपालले ल्याउन सकेन । यो कुरा महसुस गर्ने कि नगर्ने ? यति कुरा भन्दैमा हामीलाई कुनै जनावरसँग तुलना नगरियोस् । यो मेरो प्रश्न हो । फेल भएको हो कि होइन सरकार ? यो महसुस गर्ने कि नगर्ने ?’ राष्ट्रिय सभाकी सदस्य कोमल वलीलाई इङ्गित गर्दै उहाँले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गर्नुभयो । राष्ट्रिय सभा सदस्य वलीले राष्ट्रिय सभा सोमवारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिँदै व्यङ्ग्य कविता वाचन गर्नुभएको थियो ।

कमिसन एजेन्टहरूकाे घेराउमा सरकार

राष्ट्रिय सभा सदस्य देवले वर्तमान सरकार कमिसन एजेन्टहरूकाे घेराउमा परेको दाबी पनि गर्नुभयो । उहाँले कमिसनमा कुरा नमिलेका कारण कोभिशिल्ड खोप आउन नसकेको दाबी गर्नुभयो । कमिसन एजेन्टले पैसा नपाएका कारण कोभिशिल्ड खोप नआएको उहाँले दाबी गर्नुभयो । राष्ट्रिय सभा सदस्य देवले भन्नुभयो, ‘कोभिसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भनिसक्नुभएको छ कमिसनको खेलको कारण भनेर । कमिसन एजेन्टहरूले अहिलेको सरकारलाई घेरिराखेको छ । मेरो आरोप त्यो छ ।’

उहाँले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयलाई पङ्गु बनाइएको छ । अहिलेको सरकारले परराष्ट्र मन्त्रीलाई पङ्गु बनाएको छ । कार्यकर्तालाई भर्ती गर्ने केन्द्र बनाएको छ । डिप्लोमेसीको ‘डी’ नजान्नेले पोलिटिकल लिडरशिप लिएको छ । सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न सकिरहेको छैन । त्यही कारणले डिप्लोमेटिक डिलिङ कम्पिल्ट फेल भएको छ । कुटनीतिक फेलियरका कारण हामीले खोप ल्याउन सकिरहेका छैनौँ । यसलाई रियलाइज गर्न सरकार तयार छ कि छैन ? सरकारले आफ्नो फेलियरलाई लुकाउनका लागि सम्मानित संस्था राष्ट्रपतिको संस्थालाई चिठी लेखाउने हो ? म त यसलाई चाइल्डलिस्ट डिप्लोमेसी भन्छु । बच्काना कुटनीतिक मुभ भन्छु यसलाई । गल्ती गरेको छ नेपाल सरकारले रियलाइज गर्ने कि नगर्ने ? राष्ट्रपतिबाट खोप ल्याउने सन्दर्भमा चिठी लेखाउने कामै गर्नु हुँदैनथ्यो । गर्नै हुँदैनथ्यो । मेरो च्यालेन्ज छ ।’

उहाँले कुटनीतिक असफलताका कारण नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाइसकेको र अन्ततः एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गर्नुभयो । परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको तहबाट देशका कार्यकारी प्रमुखलाई चिठी लेख्न सकिनेमा त्यसो हुन नसकेको राष्ट्रिय सभा सदस्य देवले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हाम्रा परम्परागत मित्रहरू चीन, भारत, अमेरिका, जापान, जर्मनी, फ्रान्स जस्ता देश र हाम्रो रिलेशन कोल्ड भयो । नेपाली कांग्रेसको कन्सर्न त्यो हो । सम्बन्धलाई बनाउन, मिठास बनाउन, प्रोएक्टिभ बनाउन देशले धेरै मेहनत गर्नुपर्नेमा त्यसो हुन नसकेकाले एउटा देशमा मात्रै सीमित हुनुपरेको छ ।’ उहाँले वैदेशिक नीतिको सञ्चालन कच्चा ढङ्गले गरेकाले नेपाल अहिले एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको दाबी गर्नुभयो । उहाँले कोरोना महामारी विश्वव्यापी समस्या भएको भन्दै नेपाली कांग्रेसले रोकथाम, नियन्त्रण लगायत कार्यमा सहयोग गर्न सधैँ तयार रहेको बताउँदै आए पनि सरकारले प्रतिपक्षी दलहरूसँग कहिल्यै सहयोग नमागेको गुनासो गर्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.