कर्मचारीलाई अर्थ मन्त्री शर्माकाे आग्रह : काम छाडेर चाकडी गर्न नआउनुस्

असार ३०, २०७८ ,काठमाण्डाै – नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा बुधवार पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले आफू देशका लागि केही गर्ने उद्देश्यका साथ आएको बताउनुभयो । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिबद्धता भएको मन्त्री शर्माले बताउनुभयो । मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै उहाँले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

गभर्नरको ब्रिफिङ : व्यापार घाटा घटाउन सबै लागौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीका रूपमा देखिँदै गएको बताउनुभएको छ । नवनियुक्त अर्थ मन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मुद्रा सञ्चितिकाे अवस्था राम्रो भए पनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताउनुभयो । देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भए पनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने उहाँले बताउनुभयो । आउँदाे आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने उहाँकाे भनाइ छ । देशमा निर्माण वा उत्पादन हुन सक्ने सानो भन्दा सानो वस्तु पनि महँगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताउनुभयो ।

नवनियुक्त अर्थ मन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुङ्गानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि भेटाउन सकिने बताउनुभयो । व्यापार घाटा कम गर्नुपर्ने विचार राख्नुभएका गभर्नर अधिकारीपछि बोल्नु हुँदै सचिव ढुंगानाले कोरोनाका कारण थलिएको अर्थतन्त्र, खुम्चिएको राजस्व सङ्कलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन स्राेतकाे दक्षतापूर्ण प्रयोग र सङ्कलन भएको राजस्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.