अफगानिस्तानमा रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

साउन १, २०७८ शुक्रबार ,काठमाण्डाै – पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गर्नुभएको छ । स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीकाे ज्यान गएकाे हाे ।

अफगानिस्तानको टीभी च्यानल टोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो । तालिबान समूहले बुधवार स्पिन बोल्डक सहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्त्वपूर्ण सीमा चौकीमा नियन्त्रण लिएका थिए ।दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटो पत्रकार थिए र उनी केही दिनदेखि अफगानिस्तानमा चलिरहेको सङ्घर्ष र तनावको रिपोर्टिङ गरिरहेका थिए ।

उनले आफ्नो ट्विटर अकाउन्टमा पछिल्लो दिन लगातार त्यहाँको स्थितिको जानकारी दिँदै आक्रमणमा पटक–पटक बचेको बारेमा बताएका थिए ।दानिश सिद्दीकी भारतमा रोयटर्स पिक्चर्सको मल्टिमिडिया टिमको प्रमुख थिए ।उनले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । सन् २००७ मा उनले जामियामा नै एजेके मास कम्युनिकेशन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।

उनले पत्रकारितामा आफ्नो करिअरको सुरुवात एक टीभी न्युज संवाददाताका रूपमा गरेका थिए । पछि उनी फोटो पत्रकार बने र सन् २०१० मा रोयटर्समा प्रशिक्षार्थीका रूपमा काम गर्न सुरु गरे । उनले सन् २०१८ मा फिचर फोटोग्राफीमा पुलित्जर पुरस्कार जितेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.