ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीलाई पनि कोरोना सङ्क्रमण

साउन ३, २०७८ आइतबार ,काठमाण्डाै – टोकियो ओलम्पिक सुरु हुन ५ दिन मात्रै बाँकी रहँदा दुई खेलाडीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीमा सङ्क्रमण पाइएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ । यस अघि ओलम्पिक भिलेजमै रहेका अर्का एक जना अफिसियलमा सङ्क्रमण पुष्टि भएको थियो ।सङ्क्रमित सबैको परिचय गोप्य राखिएको छ । सुरक्षित भनिएको ओलम्पिक भिलेजमै सङ्क्रमित भेटिएपछि चिन्ताको विषय बनेको छ । कडा स्वास्थ्य सुरक्षाका बीच पनि सङ्क्रमण भेटिएको हो । आयोजक कमिटीले खेलाडीको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै भएको छ ।

टोकियो ओलम्पिक आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुनेछ । ओलम्पिक भिलेजमा ११ हजार खेलाडी रहनेछन् । कोरोनाकै कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि हुन लागेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार तथा आयोजक कमिटीबीच दर्शकबिना र कोरोनाविरुद्ध कडा नियम पालना गर्ने सहमति भएपछि प्रतियोगिता हुन लागेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.