तामाकाेशी पाँचौँ जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

साउन ११, २०७८ सोमबार ,काठमाण्डाै – दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकाेशी पाँचाैँ जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आइतवार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकाेशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयूमा हस्ताक्षर गर्नु भएको छ ।

करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपूँजी (इक्विटी)बाट जुटाइने छ । तामाकाेशी पाँचाैँ ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकाेशीको क्यास्केड आयोजना हो । त्यसैले तामाकाेशी पाँचौँले बाँध, बालुवा थिग्‌र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ । माथिल्लो तामाकाेशीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब दुई किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.