रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी

साउन ११, २०७८ सोमबार काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो । इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा सीमा प्राधिकरण (पिबा) र नेपालको वैदेशिक रोजगार विभागले समन्वय गरिरहेको छ । श्रमिक पठाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै सूचना प्रकाशित गरिने वैदेशिक रोजगार विभागले जनाएको छ । के-कस्ता कुराहरु समेटेर सूचना प्रकाशन गर्ने भन्ने बारेमा विवरण पिबामा पठाएको र उसले उपलब्ध गराएको भोलिपल्टै सूचना प्रकाशित गरिने विभागका इजरायल रोजगारी शाखा प्रमुख फोकल पर्सन डम्बरबहादुर सुनुवारले बताउनुभयो । त्यही आधारमा नै बाँकी कुराहरु प्रष्ट भइने उहाँको भनाइ छ ।‘पिबाले आज या भोलि नै हामीलाई जानकारी गराउँछ होला’, उहाँले भन्नुभयो, ‘त्यही अनुसार इजरायल जान चाहने श्रमिकको लागि हामी सूचना प्रकाशन गर्नेछौँ ।’विभागले सूचना जारी गरेको २१ दिनमा परीक्षा तोकिने छ । परीक्षा अंग्रेजी भाषामा हुनेछ । रोजगारीमा इजरायल जान दश कक्षा उत्तिर्ण गरेकाले सीएमए वा अनमी पढेको हुनुपर्ने अथवा बाह्र कक्षा उत्तिर्ण गरेकाहरुले तीन महिने ‘केयर गिभिङ’ तालिम लिएको हुनुपर्नेछ ।

उमेर २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । अहिले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक पठाउने तयारी भएको छ । विभागका अनुसार दुवै पक्षको समन्वयमा नै खर्च, श्रमिक भर्ती प्रक्रिया अगाडि बढ्ने छ । कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने, पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ । तर कुन खोप लगाउने, उता गएपछि क्वरेण्टीनमा बस्ने या नबस्ने भन्ने बारेमै अझै निर्णय भएको छैन । यस्तै हवाइ भाडा श्रमिक आफैले बेहोर्नुपर्ने निर्देशक सुनुवारले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.