मोरङको उत्तरी ग्रामीण क्षेत्रमा आय आर्जनको स्रोत बन्दै निगुरो

साउन १६, २०७८ शनिबार ,माेरङ – जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ ।मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डुम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ । मोरङको उत्तरी क्षेत्रमा पर्ने यो चारकोशे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्नवर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ ।

निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन् । उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन् । एकाबिहानै जंगल प्रवेश गर्ने उनीहरु दैनिक ८ देखि १० घण्टाको समय खर्चिएर निगुरो संकलन गर्छन् । मिक्लाजुङ गाउँपालिका ३ की भिममाया विक दैनिक छिमेकी महिलाहरुसँग निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ बजेदेखि ३ बजेसम्म लगातार टिप्दा प्रायजसो दैनिक एक डोको निगुरो लिएर गाउँ फर्किने गरेको उहाँले बताउनुभयो । अन्य महिनाको तुलनामा वर्षाको ३ महिना निगुरो बढी पाइने गरेको उहाँले सुनाउनुभयो । मधुमल्ला टाँडीकी देविका दर्जी समेत दैनिक महिलाहरुको समूह बनाएर डुम्रेको यो जंगलमा निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान बेलुकाको घरधन्दाबाट बँचेको समय उहाँले नियमितरुपमै निगुरो टिप्न खर्चिनुहुन्छ । निगुरो टिपेरै बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउने गरेको उहाँको भनाई छ ।​

​मधुमल्लाको टाँडीबाट निगुरो संकलन गर्न आइपुग्नुभएका मनबहादुर रसाइली पेशाले दैनिक ज्याला मजदुरी गर्नुहुन्छ । पछिल्लो समय कोरोनाका कारण शुरु भएको लकडाउन र निषेधाज्ञाका कारण ज्यालादारी गुमेपछि उहाँ समेत निगुरो टिपेरै दैनिक गुजारा चलाइरहनु भएको छ । निगुरो टिपेरै सबै खर्च नचल्ने भए पनि भरथेगसम्म हुने गरेको उहाँको भनाइ छ ।

जंगलबाट संकलन गरिने निगुरो अधिकांशरुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यस्को मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित बिक्रीका लागि राखिने निगुरो खरिद गर्छन् । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ । निगुरो प्राकृतिक रुपमै उम्रिने र हुर्किने भएकाले बिषादी र मलखाधको दुष्प्रभावबाट समेत मुक्त हुन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.