सभापतिमा देउवालाई पराजित गरेर कांग्रेसलाई पहिलो पार्टी बनाउँछुः विमलेन्द्र निधि

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएका उपसभापति निधिले आज शुक्रवार नयाँ बानेश्वरमा रहेको एक बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आउँदो चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो । उहाँले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पार्नु भयो ।

आफू कसैलाई रिटायर्डु गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई बलियो बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र नागरिकसँग जोड्न आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

निधिले भन्नुभयो, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आउँदो एकरडेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा, रुख छापलाई जिताउन हामी सफल हुनेछौँ, मलाई पूरा विश्वास छ । आउँदो चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र सङ्गठनलाई एकताबद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो ।

म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नका लागि सभापतिको उम्मेदवार हुन खोजेको होइन । म नेपाली कांग्रेसलाई मजबुत बनाउन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदातासम्म स्थापित गराउन मेरो उम्मेदवारी हो । रुख छाप नेपाली लोकतन्त्रको पार्टी हो । रुख छाप नेपालको सार्वभौमसत्ता, नेपालको राष्ट्रियता, नेपाली जनताको हक, हित जर्गेना गर्ने छाप हो, त्यो नेपाली जनता र मतदातामा फैलाउनका लागि म सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’

उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो । आफूहरू सङ्घीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा नागरिकलाई बुझाउनु आवश्यक रहेको भन्दै उहाँले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रूपमा प्रष्ट र प्रतिबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।

उ​हाँले भन्नुभयो, ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनताको बीचमा गएर भन्न चाहान्छु, देशमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लाबारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो ।

तीन वर्षमा जुन दल सत्तामा आएको थियो, त्यो दल सङ्घीयतामा विश्वास गर्ने दल थिएन । त्यो दल गणतन्त्रमा विश्वास गर्ने दल थिएन । लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने दल थिएन । त्यसै कारणले तीन वर्षमा झन्डै दुई तिहाइको मत प्राप्त गरेर पनि देशमा सबै क्षेत्रमा भाँडभैलो बाहेक अरू केही पनि भएन । जनतालाई निराशा दियो । दुःख दियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको छ । त्यस कारणले यो कुरा अब जनताको बीचमा गएर हामीले भन्नुपरेको छ आउँदो चुनावमा ।’

उपसभापति निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रूपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.