कोरोनाको जोखिमकैबीच खुलेका विद्यालय कति सुरक्षित ?

मंसिर २, २०७८ बिहिबार ,दशैँपछि फाट्टफुट्ट खुल्न थालेका विद्यालयहरु तिहार र छठपछि पूरै खुलेका छन् । बाटाघाटा र सडकमा स्कुले पोसाक लगाएका विद्यार्थीको चहलपहल र काममा जानेहरुको भीडभाड हेर्दा कोरोना महामारी सकिएको भान हुन्छ। तर, घना र बाक्लो बस्ती भएका सहरहरुमा अहिले पनि कोरोनाको जोखिम उस्तै छ । काठमाण्डौसहित तराईका झापा, मोरङ, सप्तरी जस्ता दर्जनौँ जिल्लाका विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या धेरै छ । विद्यार्थी धेरै भएका विद्यालयमा भेला हुने विद्यार्थीले साथीभाइलाई अँगालो हाल्नु, मास्क नलगाउनु, मास्क साटासाट गर्नु जस्ता गतिविधि सामान्य मानिन्छन् । तर, कोरोना सङ्क्रमण फैलिने यस्तै गतिविधिबाट हो । यस्ता गतिविधि रोकेर स्वास्थ्य मापदण्डको पालना के कसरी गरिएको छ त ?

मास्क, स्यानिटाइजर र साबुन पानीको व्यवस्था
शारदा पौडेल, सहायक प्रधानाध्यापक, दरबार हाइस्कुल, काठमाण्डौ
झण्डै ६ सय विद्यार्थी रहेको हाम्रो स्कुलमा विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय आउनु भन्दा अगाडि विद्यालय परिसर सङ्क्रमण मुक्त बनाएका छौँ । साथै बसाइ व्यवस्थापनका लागि हामीसँग दोहोरो हावा खेल्ने ठूलाठूला कक्षाहरु छन् । कक्षा कोठाको झ्याल ढोका खोलेर पढाउन सकिने स्थिति पनि छ । हामी एकै पटक पनि कक्षा सञ्चालन गर्न सक्छौँ । यदि सकिएन भने दुई सत्रमा पनि कक्षा सञ्चालन गर्न सक्छौँ । एक्लै बस्न सकिने डेस्क बेञ्च तथा एक मिटर खाली राखेर बस्न सकिने व्यवस्था छ । विद्यालयले मास्क, स्यानिटाइजर र साबुन पानीको पनि व्यवस्था गरेको छ । विद्यालय हाताभित्र विद्यार्थी प्रवेश गर्दा पहिले ज्वरो नाप्छौँ । अनि स्यानिटाइज गरेर मात्र भित्र पठाउने गरेका छौँ ।

रुघाखोकी तथा ज्वरो आएका विद्यार्थीलाई अभिभावकसँग अनुरोध गरेर निको भएपछि मात्र विद्यालय पठाउन अनुरोध गरेका छाैँ । विद्यालय आउँदा मास्क, स्यानिटाइजर तथा पिउने पानी पनि सकभर आफैंले ल्याउने व्यवस्था गर्न अभिभावकलाई भनेका छाैँ । भीडभाड नहुने गरेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था गरेका छाैँ । कक्षा कोठाको सम्पूर्ण जिम्मेवारी कक्षा शिक्षकलाई दिइएको छ । प्रावि, निमावि तथा माविको इन्चार्जहरुले पनि सबै हेरिरहनु भएको हुन्छ । कक्षा कोठा खाली गर्दैनौँ । घण्टी लागेर अर्को शिक्षक नजाउन्जेल कक्षा कोठा खाली राख्ने गरेका छैनौँ। अलि कठिन भए पनि हामी अनुगमन भने गर्न सक्छाैँ । सामान्य रुघाखोकी लागेका विद्यार्थीलाई विद्यालय नपठाउन अनुरोध गर्छौँ । यदि आइहालेको खण्डमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्छाैँ ।

स्कुल आउने बिन्दुदेखि नै स्यानिटाइज
मुकुन्दराज शर्मा, प्रिन्सिपल लिटल एन्जल स्कुल, काठमाण्डौ

४ हजार विद्यार्थी रहेको हाम्रो स्कुलमा बसमा आउने बच्चा होस् वा हिँडेर आउने बच्चा होस्, बच्चा घरबाट स्कुल आउने बिन्दुदेखि नै ख्याल गर्छाैँ । बसमा चढ्नु अगाडि नै बच्चाले आफूलाई स्यानिटाइज गर्नु पर्यो । त्यसको व्यवस्था हामीले बस बसमा गरिदिएका छाैँ । स्कुल आउँदा पनि तिनीहरुलाई बसमा अलि खुकुलो गरी ल्याउने व्यवस्था गरेका छाैँ । स्कुल आइपुगेपछि पनि गेटमा तापक्रम नाप्ने तथा हिँडेर आउने बच्चालाई स्यानिटाइज गर्ने व्यवस्था गरेका छाैँ । हामीले बच्चाको अभिभावक तथा अनलाइन कक्षामा पटक पटक शिक्षकमार्फत भन्न पनि लगाएका छाैँ । साथै हामीले सूचना पनि पठाएका छाैँ कि जहाँ धारा तथा शौचालय जानुपर्दा भीड हुने ठाउँहरुमा विना मास्क नजाने तथा धेरै लामो समय नबस्ने । यी मापदण्डका बारेमा हामीले कक्षा कोठामा पनि पटक पटक सम्झाउने गरेका छाैँ ।

यसभन्दा अघि पनि लकडाउनपछि हामीले साढे दुई महिना त स्कुल खोल्यौँ । त्यो बेलाको लामो अनुभव पनि छ, हामीसँग त्यस बेला केही बालबालिकाले अरुको मास्क साट्ने, अरुको पानी खाइदिने केही अपवाद देखियो । ससाना बालबालिकाहरुलाई कोरोना भन्ने शब्द यस्तो त्रास भएको रहेछ, उनीहरुमा यस्तो डरको मनोविज्ञान पसेको रहेछ कि उनीहरु धेरै डराउँदा रहेछन् । साना बच्चाहरुमा चुँडिएर, नजानेर, झरेर अनि मास्क लुज भइरहेको हुन्छ । हाम्रोमा कक्षा शिक्षण प्रणाली रहेको हुनाले कक्षा शिक्षकले त्यसमा निगरानी गर्नु हुन्छ । विशेष गरी खेल्दा तथा खाजा खाने समयमा हामी शिक्षकको निगरानीमा बच्चाहरुलाई खुला ठाउँमा निकाल्छाैँ ।

विशेष गरी पानी पिउने समयमा अनि शौचालय जाने समयमा हामी शिक्षकसँगै उनीहरुलाई लाइनमा राखेर लैजान्छौ । हामीले यो विधि अपनाउने गरेका छाैँ । हामीसँग आइसोलेशन कक्ष र बिरामी कक्ष पनि छ । मिनी हस्पिटल भन्छाैँ हामी त्यसलाई । त्यसमा नर्स तथा डाक्टरहरु हुनुहुन्छ । यदि कोही बिरामी भए वा शङ्का लागेमा हामी तुरुन्तै आइसोलेशन गरेर अभिभावकलाई खबर गर्छाैँ । साथै कुनै ज्वरो तथा रुघा लागेको लक्षण छ भने पनि अभिभावकलाई खबर गर्ने गर्छाैँ ।

प्राथमिक उपचार कक्ष तथा नर्सको व्यवस्था
खेमराज भट्टराई, प्रधानाध्यापक पोखरिया मावि, विराटनगर

लगभग २८ सय विद्यार्थी भएको हाम्रो विद्यालयमा हामी अहिले दुई सत्रमा गरेर विद्यालय सञ्चालन गरेका छाैँ । पहिलो कुरा विद्यार्थीहरुलाई विद्यालय पठाउँदा अभिभावकले मास्क लगाएर पठाउने, सम्भव भए सानो स्यानिटाइजर पनि सँगै दिएर पठाउन पनि हामी अनुरोध गर्छाैँ । यदि कोही विद्यार्थी त्यसरी उपस्थित हुन सक्दैनन् भने मास्क तथा स्यानिटाइजरको व्यवस्था विद्यालयले गर्नेछ र गरेको पनि छ । पानी खाने ठाउँ तथा ट्वाइलेटमा सबै तिर हामीले हात धुनको लागि साबुनको व्यवस्था गरेका छाैँ । साथै भीडभाड हुने अवस्था आउने हुनाले टिफिन पनि हामीले घटाइ रहेका छाैँ भने विद्यार्थीको सङ्ख्या धेरै नहुने गरी विद्यालय सञ्चालन गर्ने रणनीति हामीले बनाइ रहेका छाैँ । तल्लो कक्षा अर्थात १ कक्षादेखि ५ कक्षासम्मको विद्यार्थीलाई दूरी कायम गर्ने जस्ता कुरामा समस्या हुन्छ । पहिले पनि हामीले त्यो भोगेको कुरा हो । गएको वर्ष पनि भएका कारण अहिले केही सचेत भएको अवस्था छ ।

हामीले कक्षामा शिक्षक खाली हुन नदिने, विद्यार्थीहरु कक्षामा के गरी राखेको छ भनेर प्रत्येक व्यक्तिले प्रत्येक समयमा निगरानी गर्ने व्यवस्था छ । त्यसको अतिरिक्त विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र विद्यालय प्रशासन सजगताका साथ अनुगमन गरिरहन अगाडि बढिरहने तथा त्यो गर्नु पनि पर्ने अहिलेको आवश्यकता पनि छ ।

हामीकहाँ प्राथमिक उपचार कक्ष तथा नर्सको पनि व्यवस्था छ । र, यदि कसैलाई सङ्क्रमण भेटियो भने आइसोलेशनको व्यवस्था गर्ने अनि त्यहाँ राख्ने गरी तयारी गरेका छाैँ । पढाउन सक्ने स्थिति छ भने पढाउने र अभिभावकलाई जानकारी दिने र बच्चालाई घरमै पठाउने गर्छाैँ । यो हामीले पहिले पनि गरिरहेको हो । यसको अतिरिक्त त्यसलाई तत्कालै अस्पतालमा खबर गर्नु पर्ने हो कि वा सम्बन्धित निकायमा जानकारी दिने हो सकेसम्म सचेतनाका सबै अवस्था विद्यालयले अपनाउने गरेको छ । हामी अभिभावक तथा विद्यार्थीलाई पनि यसका बारेमा खबर गर्छाैँ । तथा अहिले यसरी नै विद्यालय सञ्चालन गर्नु पर्ने अवस्था छ ।

(कोरोना जोखिमलाई ध्यान दिंदै विद्यालयहरुले गरेको तयारीबारेकाे जानकारी कोरोना क्याप्सुलकाे अङ्क मंसिर २ र कात्तिक ३० मा सुन्नुहोस् ।)

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.