प्राधिकरणलाई चिन्ता : बिजुलीको खपत कसरी बढाउने ?

मंसिर २, २०७८ बिहिबार काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा पर्यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन । यस वर्षको लक्ष्मी पूजाको दिनको साँझको विवरण हेर्दा एक हजार २७० मेगावाट मात्रै बिजुलीको उच्च माग देखियो । गएकाे असोज १० गते सबैभन्दा बढी एक हजार ७२० मेगावाटको हाराहारीमा माग पुगेको थियो भने गएराति औसतमा बिजुलीको माग एक हजार ४२६ मेगावाट थियो ।

नदीमा जल सतह कायमै छ । कुलेखानी जलाशय पूर्णरुपमा भरिएको छ । यी सबै खुसीका विषय सार्वजनिक भइरहेको बेला प्राधिकरणलाई भने एउटा चिन्ताले सताएको छ । यो चिन्ता हो–बिजुलीको खपत कसरी बढाउने ।सहजै रुपमा बिजुलीको खपत बढ्ने अवस्था देखिएको छैन । जल तथा ऊर्जा आयोग, लगानी बोर्ड र प्राधिकरण स्वयंले गरेको अध्ययन अनुसार भइदिएको भए यसवर्ष प्रणालीमा झण्डै चार हजार मेगावाट बराबरको बिजुलीको माग हुनुपर्ने थियो । तर, अवस्था सोचेजस्तो भइरहेको छैन ।

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि बिजुलीको खपत बढाउने विषय टाउको दुखाइ बनेको छ । प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मलाई पनि उत्पादित ऊर्जा खेर गइरहेकोमा चिन्ता छ । समाधानको उपाय भने पत्ता लागिसकेको छैन । बिजुली खेर जान थाल्यो भन्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ औद्योगिक करिडोरमा पुगिरहेका छन् । ‘स्वदेशी बिजुली स्वदेशै खपत गरौं’ भन्ने योजनाका साथ आफूले सकेसम्म पहल गरिरहेको उहाँको भनाइ छ । उत्पादन सुरु भएको तीन वर्षपछि चिनियाँ लगानीको होङ्सी सिमेन्टले ३० मेगावाट बिजुली पाएको छ । याे उद्योगले अझै ५० मेगावाट माग गरेको छ ।

जगदम्बा स्टिलले थप २५ मेगावाट माग गरेको छ । सगरमाथा सिमेन्ट, मारुती सिमेन्टले पनि थप बिजुली माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का उपाध्यक्ष आशिष गर्गका अनुसार सरकारले वितरण प्रणाली निर्माण मात्रै गर्ने हो भने तत्काल नै देशभित्र एक हजार मेगावाट बिजुली खपत हुनेछ । उद्योग स्थापना गर्न चाहेका उद्यमी तथा अहिले सञ्चालनमा रहेका उद्योगले माग गरेको बिजुलीको परिमाण हेर्दा हक हजार मेगावाट बढी बिजुली खपत हुने अवस्था रहेको उहाँको भनाइ छ । यसो त प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत नै बिजुली उपलब्ध गराउने तयारी रहेको छ । याे क्षमताको प्रसारण लाइन र सबस्टेशन नजिक रहेका उद्योगलाई माग गर्ने बित्तिकै बिजुली दिने योजनामा प्राधिकरण छ । उसले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा कुन उद्योगलाई के कति बिजुली चाहिएको हो, विवरण उपलब्ध गराउन भनेको छ ।

यसबाट आशातीत रुपमा बिजुलीको माग बढ्ने प्राधिकरणको विश्वास छ । विगतमा डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका कारण उद्योगी व्यवसायी बिजुलीको थप माग गर्न हिच्किचाइरहेका थिए।यतिबेला अवस्था फेरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोली नै औद्योगिक करिडोरमा पुगेर के कति थप बिजुली चाहिएको हो भन्ने जानकारी लिइरहेको छ । यस्तै, बिजुली खपतका लागि सहरी क्षेत्रमा इन्डक्सनको प्रयोग बढाउने योजना अगाडि सारिएको छ । नेपाल आयल निगमले एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ५७५ रुपैयाँ निर्धारण गरेका अवस्थामा बिजुलीबाट खाना पकाउँदा ९०० रुपैयाँ मात्रै लाग्ने भएको छ ।

हिजाेदेखि बिजुलीको नयाँ महसुल कार्यान्वयनमा आएको छ । पछिल्लो महसुल अनुसार अब १५० युनिटसम्म बिजुली खपत गरेर इन्डक्सन चुल्होमा खाना पकाउन सकिन्छ । प्राधिकरणले आक्रामक रुपमा योजना बनाएर कार्यान्वयन गर्ने हो भने आउँदाे तीन वर्षभित्र थप दुई हजार मेगावाट बिजुली इन्डक्सन चुल्होमा खपत हुन सक्छ । यसबाट ठूलो मात्रामा आयात भइरहेको खाना पकाउने ग्याँसको खपत कम हुन जान्छ । निगमले वार्षिक रुपमा झण्डै ४० अर्ब रुपैयाँ बराबरको रकम ग्यास खरिदका लागि खर्चिने गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा अमृतमान नकर्मीका अनुसार प्राधिकरणले इन्डक्सन चुल्होको प्रयोग बढाउन व्यापक रुपमा मार्केटिङ गर्नुपर्नेछ । प्रयोग गरौँ भनेको भरमा मात्रै नहुने भएकाले व्यापक रुपमा ‘मार्केटिङ’ गर्नुपर्ने र उपभोक्तालाई पूर्ण रुपमा विश्वास दिलाउनुपर्ने उहाँको भनाइ छ ।

वितरण प्रणालीमा समस्या आउँछ कि ट्रान्सफर्मर पड्किन्छ कि भनेर चिन्ता नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘व्यापक रुपमा इन्डक्सनको प्रयोग बढेमात्रै बिजुलीको बजार खोज्दै भौतारिनु पर्ने अवस्थाको अन्त्य हुन्छ।’ दक्षिण एशियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर असाध्यै न्यून रहेको छ ।भारतको प्रतिव्यक्ति खपत दर एक हजार किलोवाट घण्टा छ भने चीनको पाँच हजार किलोवाट घण्टा रहेको छ । नेपालको करिब ३०० किलोवाट घण्टा पुगेको छ । यस आधारमा पनि बिजुलीको खपत बढाउन ठूलो मेहनत गर्नुपर्ने प्राडा नकर्मीको भनाइ छ । यसो त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल पनि इन्डक्सन चुल्होको प्रयोग बढाउन अनुदान दिने विषयमा छलफल जारी रहेको बताउनुहुन्छ । ‘कुन मोडलमा कसरी अनुदान दिने भन्ने बारेमा छलफल जारी छ । सरकारको तर्फबाट छिट्टै एउटा निर्णय हुन्छ ‘ उहाँले भन्नुभयो ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली खपत गरौँ भन्ने नाराका साथ देशव्यापी अभियान नै अगाडि बढ्छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.