पाल्पाको सत्यवती मेला समापन,लाखौँ दर्शनार्थीहरूको सहभागिता रह्यो

निराजन पौडेल
मंसिर ३
पाल्पा – पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ४ सत्यवतीमा रहेको सत्यवती बज्यै मेला आज समापन भएको छ । मेलामा लाखौ दर्शनार्थीहरूको सहभागिता रहेको थियो । विहिबारबाट सुरु भएको मेला आज सकिएको हो । सिद्धार्थ राजमार्ग अन्तगर्त पाल्पा बुटवल सडक खण्डको चर्चरेबाट २ घण्टाको पैदलयात्रा बाट पुग्न सकिने सत्यवती मेलामा पाल्पा सहित गुल्मी,अर्घाखाची,रुपन्देही, नवलपरासी,कपिलबस्तु लगायत भारतबाट समेत दशनार्थीहरु आएका थिए । विशेषगरी पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नयाँ बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने गरेको पाइन्छ।

धेरै भन्दा धेरै दर्शनार्थी भित्र्याउने गरि संचालन गरिएको यस वर्षको मेला सोचेभन्दा अझबढि राम्रो हुनुका साथै यो मेला पाल्पाकै गरिमाको रुपमा रहेको तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीको भनाइ रहेको छ । त्यस्तै बाटो सहज र व्यवस्थीत भएकोहुदाँ दर्शनार्थीहरूले पालिकालाई बधाई दिएको तिनाउँ गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ बताउनु हुन्छ ।

रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेलामा हरेक वर्षलाखौं दशनार्थीहरुको घुइचो लाग्ने गर्दछ । किंवदन्ती अनुसार धेरै पहिला एक जना स्थानीय केटा सोही सत्यवत्ती ताल वरपर खेल्दै गर्दा बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भै एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटा डराई अत्तालिएछ र सत्यवती बज्यैले केटालाई नआत्तनु भन्दै “म सत्यवती बज्यै हु“ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”

पछि सोही केटाले सत्यवती बज्यैसँग भेटेको कुरा घरमा पुगेर परिवारलाई भने लगत्तै उक्त केटाको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा हरेक वर्ष यहा मेला लाग्ने स्थानियहरु बताउँछन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.