प्रतिनिधि छनाेट गर्दा हार/जित भन्दा पनि सर्वसम्मतकाे बाटाे राेजाैँ : सभापति देउवा

मंसिर ५, २०७८ आइतबार ,काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनाेट भइरहेका ठाउँमा सकेसम्म सर्वसम्मतकाे प्रयास गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

आज आइतवार सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवनकाे उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनाेटको सम्बन्धमा हार/जितको भन्दा पनि सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताउनुभएको हो । उहाँले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रीय प्रतिनिधि छनाेटमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो । पार्टीभित्रको आन्तरिक चुनावमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनाका साथै आउने चुनावमा पार्टीलाई समेत घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत पनि गराउनुभयो ।

उहाँले आफू सर्वसम्मतकाे पक्षमा रहेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताउनुभयो । देवानगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवाले वीपी कोइरालाको सालिक अनावरणसमेत गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.