गणकको अनुभव : गाउँमा सत्कार, काठमाण्डौमा गेट नै बन्द

मंसिर ६, २०७८ सोमबार ,काठमाण्डाै – राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकलाई सुविधा सम्पन्न भनिएकै काठमाण्डौ सहरमा तथ्याङ्क सङ्कलन गर्न सकस भएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डाै, भक्तपुर र ललितपुरका केही बासिन्दाले तथ्याङ्क सङ्कलनमा सहयोग नगरेको गणकहरुको गुनासो छ ।

काठमाण्डौ उपत्यकाको जनगणनाका लागि अहिले झण्डै चार हजार गणक खटिएका छन् । उनीहरुमध्ये केहीले उपत्यकामा तथ्याङ्क सङ्कलन गर्न नै समस्या भएको बताएका छन् । गणनाका लागि घर घरमा पुगेका गणकहरुलाई गेट नखोलिदिने, भाडामा बसेकाहरुको विवरण दिन नमान्ने तथा घरको मुख्य मान्छे बाहेक अरु नबोल्ने गरेका जस्ता गुनासा आएका केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गाउँ गाउँमा खटिएका गणकहरुको अनुभव भने सहरको भन्दा ठ्याक्कै उल्टो छ ।

गणकहरुले गाउँ गाउँमा स्वच्छ वातावरणसँगै गाउँका नागरिकको सम्मान र सत्कार पाएको अनुभव सुनाएका विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । अहिले रेग्मीसहितको अनुगमन टोलीले ठाउँ ठाउँमा खटिएका गणकहरुसँग अन्तरक्रिया गर्ने र अनुभव सुन्ने गरेको छ ।

अन्तरक्रियामा गणकहरुले केही ठाउँमा तथ्याङ्क सङ्कलनमा सकस भोगेको र धेरै ठाउँमा सजिलै भएको बताएका उहाँले जानकारी दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागकाअनुसार हिमाली र पहाडी धेरैजसो जिल्लामा ८०, ९० प्रतिशतसम्म गणनाको काम सकिएको जानकारी आएको छ । सहरी क्षेत्र र तराईको भने जानकारी आउन बाँकी रहेको विभागले जनाएको छ । जनगणनाको मुख्य काम आउँदाे ९ गतेसम्म चल्नेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.