नेपाली चियामा भारतले अवरोध गर्दा एक हप्तादेखि निर्यात ठप्प

मंसिर ६, २०७८ सोमबार ,काठमाण्डाै – नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ । एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फिक्कलका इन्द्र अधिकारीले जानकारी दिनु भयो ।उहाँका अनुसार निर्यात खुलाउन काठमाण्डौमा रहेको भारतीय दूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्यदूतको कार्यलयमा हिजो पत्र पठाइसकिएको छ। यसबारे दुई देशबीच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उहाँले जानकारी दिनु भयो ।

भारत पठाउन लागिएको १५ हजार किलो चिया झापाको काँकडभिट्टाको भन्सार कार्यलयमा नै रोकिएको चिया उद्यमी ग्रीनहील टि इन्डस्ट्री प्रालिका प्रोप्राइटर टङ्क दाहालले बताउनु भयो । भारतको टि बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लङ्घन गरेको उहाँको गुनासो छ ।

नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.