भरतपुर महानगरपालिकाकाे विकासका लागि ध्यानाकर्षण गराउँदै प्रचण्ड

मंसिर ६, २०७८ सोमबार ,चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।भरतपुर महानगरपालिकाले आज मङ्गलवार यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्त्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो ।

महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उहाँले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ति ल्याउने बताउनुभयो । यसलाई देशैभर विस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्ध गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

भरतपुर महानगरमा भएको विमानस्थल विस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङ रोड र लिङ्क रोडको काम अघि बढेको भन्दै देशकै नमुनाका रूपमा भरतपुरमा विकासले गति लिएको उहाँको भनाइ थियो । आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि अध्यक्ष दाहालले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिनुभयो ।

देशभरिका नागरिककाे ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, ‘यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।’फरक प्रसङ्गमा अध्यक्ष दाहालले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो देखेको सपना बिलकुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुन–जुन शक्ति लागे बुझ्न जरुरी छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.