नारायणी नदी किनारमा यसरी हुँदैछ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन

मंसिर १०, २०७८ शुक्रबार ,चितवन – नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।

७ ठाउँबाट जुलुस निकालिने
महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ । मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ ।

अत्यावश्यक गाडी नरोकिने

महाधिवेशनको उद्घाटनको क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्व – पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पूलसम्मको वैकल्पिक बाटो तय गरिएको छ । पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाण्डौ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभएको छ । उहाँका अनुसार नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ । त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ । शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

१५ सय सुरक्षाकर्मी परिचालन
महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षाका लागि खटिनुभएको छ । चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।

महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिनुभएको छ । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ । भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र
एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणा पत्र पठाइएको १० औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । उद्घाटन सत्रमा जिल्ला भित्रबाट उल्लेख्य सहभागी गराउन हरेक घरमा निमन्त्रणा पत्र नै पठाइएको उहाँले बताउनुभयो ।उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम नागरिकलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ । चितवनबाट मात्रै उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो ।

भव्य मञ्च, ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’
महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च बनेको छ । एक सय जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने छ । ७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिएको छ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको उहाँले बताउनुभयो । महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी ’सेल्फी प्वाइन्ट’ बनाइएको हो । नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि ’सेल्फी प्वाइन्ट’ मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।चितवनतर्फ २१ र नारायणी पारि गैँडाकोटतर्फ चार ‘सेल्फी प्वाइन्ट’ रहेको उहाँले बताउनुभयो । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा आकृति निर्माण रहने जानकारी दिँदै उहाँले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने बताउनुभएको छ । महाधिवेशन उद्घाटन स्थल वरपर २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैँडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.