बरालिएकाे एमालेलाई कांग्रेसले ठेगानमा ल्याउन सक्नुपर्छ : गगन थापा

मंसिर १२, २०७८ आइतबार ,काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ‘ओली सेसन’ चलिरहेको बताउनुभएको छ ।आज आइतवार नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ‘ओली सेसन’ चलिरहेको बताउनुभएको हो । उहाँले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेमा अब ‘जनवाद’ सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ सुरु भएको आरोप लगाउनुभयो । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाउनुभयो । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताउनुभयो ।उहाँले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताउनुभयो । नेता थापाले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाउनुभयो । उहाँले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘हामीले के कुरा बुझ्नुपर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने स्थान, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्त्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नोभित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ । बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ । नचाहिने कुरा गरेमा हप्काउने तागत कांग्रेसले राख्नुपर्छ । एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । यो तागत नेपाली कांग्रेसले अबको अधिवेशनबाट ल्याउनुपर्छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.