जीप र माेटरसाइकलसँग तर्सिएर भाग्दा ११ भेडा–बाख्रा मरे

मंसिर १४, २०७८ मंगलबार ,मनाङ – सवारी साधनसँग तर्सिएर भाग्दा मनाङमा ११ भेडा–बाख्रा मरेका छन् ।हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडी गोठबाट बेसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारी साधनसँग तर्सिएर भाग्दा भिरबाट मर्स्याङ्दी नदीमा खसेर भेडा–बाख्रा मरेका हुन् ।सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेसी झर्ने क्रममा गएकाे मङ्गलवार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडा–बाख्रा भिरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।

प्रमुख कुसुमका अनुसार भिरबाट ३१ भेडा–बाख्रा खसेकोमा दुई वटा बाख्रा र नौ वटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भिरबाट खस्दा भेडा–बाख्रा मरेकाे उहाँले बताउनुभयो । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमनसमेत गरेका थिए । स्थलगत अनुगमनका क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचारसमेत गरिएको कार्यालय प्रमुख कुसुमले बताउनुभयो ।

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । आकस्मिक रूपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनर्स्थापना कार्यक्रमबाट सम्बोधन हुने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । व्यावसायिक भेडा–बाख्रा पालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा अहिले पाँच सय भेडा–बाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडी गोठ चिसो बढेसँगै बेसी झार्ने गरिन्छ । किसानले भेडी गोठबाट भेडा–बाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.