कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

मंसिर २०, २०७८ सोमबार,मकवानपुर – नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा हेटौँडाका इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । हिजाे भएकाे पुन: निर्वाचनमार्फत बानियाँ अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।संस्थापन पक्षका बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गर्नुभएकाे थियाे । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिनु भएकाे थियाे । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुनुहुन्छ ।

बानियाँले १ हजार ८५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९ सय २७ मत मात्र प्राप्त गर्नु भएको छ । १३ मत भने बदर भएको छ । बानियाँ कांग्रेस संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौला पक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको जनाइएको छ ।

कांग्रेसको वाग्मती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान भएको हो । आज कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेकाे जनाएकाे हाे ।यसअघि शनिवार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत पाउनु भएकाे थियाे। प्रधानले बानियाँलाई समर्थन गरेसँगै विजयी हुनका लागि सहज भएको हो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.