ओलीलाई भेटेर प्रधानन्यायाधीशकाे राजीनामाबारे छलफल गर्दै बार

मंसिर २१, २०७८ मंगलबार ,काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको राजीनामाका बारेमा छलफल गर्ने भएकाे छ । प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै बार एसाेसिएशनले आज मङ्गलवार सर्वाेच्च अदालत परिसरमा गरेकाे विराेध प्रदर्शनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।

विरोध प्रदर्शनका क्रममा नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘न्यायपालिकाको गरिमालाई उच्च राख्न, न्यायपालिकामा व्याप्त रहेको विसङ्गति, विकृति, बिचौलिया, भ्रष्टाचार रोक्न हामीले अभियान चलाउँदै आइरहेका छौँ । यो अभियानको बाधकको रूपमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै हामीले कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण धर्नाको कार्यक्रम गर्दै आइरहेका छौँ । प्रधानन्यायाधीश कानमा तेल हालेर राजीनामा नदिइकन बसिराख्नुभएको छ, त्यसले यो लम्बिँदै गइरहेको छ । हामीले सेवाग्राहीलाई अन्यायमा पर्न नदिनका लागि, न्याय बेचबिखन हुन नदिनका लागि, साँच्चिकै अन्यायमा परेकालाई न्याय दिनका लागि आन्दोलन गरिरहेका छौँ । प्रधानन्यायाधीशकाे राजीनामा हामीले मागिरहेका छौँ, अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरू अङ्ग पनि निकम्मा हुन पुग्दछन् ।’

प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनसहित देशभरका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गएकाे कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.