बालेनको विजय र्‍यालीमा सुमन सायमी

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएपछि आयोजित धन्यवाद र्‍यालीमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि देखिए ।बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा सायमी १३ हजार ७७० मतसहित चौथो स्थानमा रहे । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार सिर्जना सिंह र तेस्रोमा एमाले उम्मेदवार केशव स्थापित थिए ।आफ्नै प्रतिस्पर्धी बालेनको धन्यवाद र्‍यालीमा गएर सायमीले धेरैको मन जिते । राम्रो काम गर्नेलाई साथ दिन र सहयोग गर्न सधैं तयार रहेको बताउने सायमी युवा पुस्ता राजनीतिमा आएको र परिवर्तन चाहनेहरुले जितेको भन्दै खुशी देखिए ।

काठमाडौंको विकासमा बालेनसँग आफ्नो मुद्दा र एजेण्डा मिल्ने सुमन बताउँछन् । उनले काठमाडौंको सम्पदा, संस्कृति र सभ्यता संरक्षणका लागि बालेनलाई साथ दिने पनि बताए ।

‘बालेन साहको बोली र व्यवहारमा एकरुपता होस् । संस्कृति र सम्पदाका मुद्दाले नै उनले जितेका हुन् । जनतालाई देखाएका सपना र आशा अनुरुप काम गरुन भन्ने चाहन्छु’, सायमी सुनाउँछन् ।

सायमी मेयरको उम्मेदवार बने पनि काठमाडौंको राजनीतिमा परिचित व्यक्ति होइनन्, बरु उनी त पछिल्लो १० वर्षमा काठमाडौंको सामाजिक आन्दोलनमा सक्रिय अभियन्ता हुन् ।

काठमाडौंको भाषा, सम्पदा, मौलिक संस्कृति र गुठी आन्दोलनको उनले नेतृत्व गरेका छन् । नेवा सभ्यता, भाषा, यहाँको भूमि र सम्पदा बचाउन उनी निरन्तर सक्रिय छन् । ‘म कर्ममा विश्वास गर्ने मान्छे, आफ्नै काममा व्यस्त रहन्छु र त्यति बोल्न पनि आउदैन । आफूले गरेका कामको बारे जनतालाई खुलेर पनि भन्न सकिन’ उनी भन्छन् ।

आफूलाई काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री नेवारी बस्तीको मात्रै भोट आएको सायमीको बुझाइ छ । ‘स्थानीय स्तरमा लामो समयदेखि संघर्ष गर्दै आएकाले मत पाएको हुँ । बाहिर प्रचार प्रसार गर्ने समय नै भएन’, उनले भने ।

सायमी आफूले ल्याएको मत कम भएको बताउँछन् । ‘मैले कम्तीमा २०-२५ हजार मत आउला भन्ने सोचेको थिएँ, । तर त्यो विभिन्न कारणले सम्भव भएन्, उनी भन्छन्,‘मतदाताले बालेनलाई चुनेर पनि परिवर्तनको समर्थन गरे म यसमा खुसी छु ।’

स्थानीय चुनावमा पाएको १३ हजार ७७० मतले भने उनलाई अब राजनीतितिर डोर्‍याएको छ । ‘केही दिनको समयमा पनि मैले १३ हजार ७७० मत ल्याएँ, यसलाई मैले इँटाका रुपमा लिएको छुु, जसले घर निर्माण गर्न जग बसाउने काम गर्छ’, सायमी भन्छन् ।

यसको मतलब उनी यत्तिमै रोकिनेवाला छैनन् ।कम्युनिष्ट नेता जीवनराज मानन्धरका छोरा हुन सायमी । उनको परिचयको दायरा फराकिलो बनेको मेयरमा उम्मेदवारी दिएपछि मात्रै हो ।

कालीमाटीमा उनको पुर्ख्यौली मिठाई पसल ‘स्वीट केभ’ छ । सात कक्षा पढ्दादेखि नै सायमीले मिठाइ पसलमा काम गरे । अहिले १० जना साथी मिलेर पार्टी प्यालेस खोलेका छन् ।

१० वर्ष व्यवसाय गरेका सायमीको चाहना छ, काठमाडौंमा कसैको घरमा डोजर नलागोस्, कसैको उठीबास नलागोस्, भूमि र भाषामा कसैको आँखा नलागोस् र संस्कृतिको जगेर्ना होस् ।

तर यो काम गर्न अहिलेको भूमिकाबाट हुँदैन भन्ने बुझे, त्यसैले राजनीतिमा आउनुपरेको सायमी प्रष्टीकरण दिन्छन् ।

‘राजनीति फोहोरी खेल हो भनेर सोच्थेँ, तर त्यही राजनीतिलाई सुधार्न पनि राजनीतिमा आउनुपर्ने भयो’, उनी भन्छन्, ‘नागरिकले राज्य र प्रशासनले गर्ने अत्याचार विरुद्ध लड्न पनि पाउनुपर्छ ।’

सायमी किन राजनीतिमा आए त ?

यसको जवाफ खोज्न २०७२ सालको भुइँचालोसम्म फर्किनुपर्छ ।

२०७२ साल वैशाख १२ गते । जुन दिन काठमाडौंमा सयौंं घर ढलेका थिए, मानिसहरु कहाँ बस्ने, भन्ने चिन्तामा थिए । त्यही बेला उपत्यका विकास प्राधिकरणले सडक विस्तारको नाममा अर्को चिन्ता थपिदिएको सायमी बताउँछन् ।

भूकम्पले दिएको घाउ पुरिन नपाउदै उनलाई अर्को आपत आइलाग्यो । एकदिन बिहानै कालिमाटी तरकारी बजारमा प्रहरी प्रशासनसहित बडेमान डोजर आयो ।

डोजरकै छेउमा थियो सुमनको पुरानो घर । डोजर देखेपछि सायमी अत्तालिए । सायमीको त्यो घर पञ्चायतकालमा कम्युनिष्ट पार्टीको गुप्त कार्यालय जस्तै थियो । जहाँ भुमिगत भएका बामपन्थी नेताहरु छलफल र बैठकका लागि आइरहन्थे ।

घर भत्काउने भनेपछि उनले मन थाम्न सकेनन् । आन्दोलन र भिडभाडमा सधैं पछाडि रहने र धेरै बोल्न मन नपराउने सायमी त्यस दिन साँच्चै आन्दोलनकारी भए । किनकी पुस्तौंदेखि उनको परिवारले भोगचलन गर्दै आएको, आफू हुर्के बढेको घरमा सरकार डोजर चलाउदै थियो ।

‘कसैले माथिको आदेश भन्दैमा कसरी मेरो घर भत्काउन सक्छ ? जबकी मसँग घरको सम्पूर्ण कागजात थियो । समयमा कर तिरेको थिए । र मसँग संवैधानिक र सम्पत्तिको हकसमेत थियो’ उनी सम्झिन्छन् ।

सायमीले घर भत्काउन नदिने अड्डी कसेपछि डोजरवालाले पेटी मात्रै फुटाउँछौं भन्यो । स्थानीयले डोजर चलाउनै नदिने अडान लिए । विवादकै बीच डोजरले घरको बार भत्काएर फर्कियो ।

हरेक शनिबारले सायमीलाई अत्यास दिन्थ्यो । किनकी सार्वजनिक विदाका कारण सरकारी अड्डा र अदालत बन्द हुन्थे, तर डोजर त्यसै दिन ल्याइन्थ्यो ।

सरकारी विदा भएको दिन आएपछि गुनासो गर्न कहाँ जाने ? डोजर कसरी रोक्ने ?

उनले आफूजस्तै पीडितसँग छलफल गर्न थाले र कानुनी परामर्श पनि लिए ।

कालीमाटी क्षेत्रका सडक विस्तार पीडितले थानकोटका सडक विस्तार पीडितसँग पनि छलफल गरे । छलफलले सायमीकै नेतृत्वमा ‘उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति’ गठन गर्‍यो ।

‘त्यो ठूलो डोजर हाम्रो घरमाथि चलेको थिएन त्यो त हाम्रो ज्यानमाथि चलेको थियो, उनी सम्झिन्छन्, ‘कतिले जिन्दगी दाउमा राखेर ऋणदान गरेर घर बनाएका हुन्छन् । अर्को ठाउँमा जग्गा हुदैन । उनीहरुले कहाँ जाने ? यो राज्यको अत्याचार थिएन त ?’

एक दुई जना जोडिदै गएको उनको संघर्ष समितिले आन्दोलनको रुप लिन थाल्यो । घर बचाउन भन्दै उनीहरु सार्वेच्च अदालतसम्म गए ।

अदालतले कानुन बमोजिम गर्नु भन्दै पीडितका पक्षमा अन्तरिम आदेश दियो । ‘कानुनमा उल्लेख नभएको कुरा राज्य तथा सरकार कसैले पनि गर्न पाउदैन । स्टे अर्डरपछि मैले आवासको हक, सम्पत्तिको हक अधिकारबारे अध्ययन गरे । हामी यसबारे अन्तर्राष्ट्रिय अदालतसम्म गयौं’ उनले सुनाए ।

संघर्ष समितिले घर बचाउन अन्तर्राष्ट्रिय श्रम संगठनमा समेत मुद्दा दर्ता गर्‍यो । उताबाट श्रम मन्त्रालयसँग वार्ता गर्नु भन्ने पत्र आयो । तर मनत्रालयले कुनै वास्ता गरेन ।

‘पछि अन्तर्राष्ट्रिय चासो देखेपछि सरकार पछि हट्न बाध्य भएको हो । नत्र त राज्यले धेरैलाई घरबारविहीन बनाइसक्थ्यो’ सायमी भन्छन् ।

घर बच्ने भएपछि उनी उपत्यकाको मौलिक संस्कृति र सम्पदा बचाउनतिर लागे । त्यसका लागि उनले ‘उपत्यका सरोकार मञ्च’ समेत गठन गरे ।

त्यति मात्रै होइन २०७६ सालमा सरकारले ल्याएको गुठी विधेयकविरुद्ध काठमाडौंमा भएको आन्दोलनको पनि सायमीले नेतृत्व गरे । काठमाडौं–तराई फास्ट ट्रयाकको प्रभाव क्षेत्र खोकनामा भएको आन्दोलनको नेतृत्वसमेत गरिसकेका छन् सायमीले ।

उपत्यकाको सम्पदा संस्कृतिसँगै खुला क्षेत्रको संरक्षणका लागि सञ्चालन भएको ‘अकुपाई टुँडिखेल’ अभियान पनि उनकै नेतृत्वमा भएको थियो ।

सामुदायिक गुठीलाई सिधा राज्यको स्वामित्वमा लिने र त्यस मातहत रहेका जग्गा भू-माफियालाई सुम्पिने योजना अनुसार गुठी विधेयक ल्याइएकाले आफूहरुले विरोध गरेको सायमी बताउँछन् ।

‘गुठीमा स्वायत्तता र सुशासन हुनु पर्छ भन्ने कुरा थाहा पाएपछि म त्यो आन्दोलनमा सहभागी भएको हुँ’ गुठी विधेयकविरुद्ध भएको आन्दोलनबारे उनी भन्छन् । स्मार्ट सिटी, राष्ट्रिय गौरवका योजना र विकासका नाममा काठमाडौंलाई सिध्याउन खोजिएको उनको भनाइ छ ।

‘काठमाडौं आफैंमा विश्वको उत्कृष्ट संग्रहालय हो । मात्रै यसको संरक्षण र जर्गेना गर्नुपर्छ । विकासका नाममा सम्पदा, संस्कृति र मौलिकता मास्न पाइदैन’ उनले भने ।

 

बुवा कम्युनिष्ट नेता भएका कारण धेरैले उनलाई कम्युनिस्ट पार्टीमा लाग्न भने । तर उनले राजनीतिक दलमा लागेर राजनीति गर्न चाहेनन् ।

उनलाई लाग्यो -पार्टीमा लागेँ भने न मेरो अर्थ रहन्छ न मैले गरेको आन्दोलन र संघर्षको ।

बारम्बार आन्दोलन संघर्ष गर्दा पनि राज्यले आवाज नसुनेपछि उनलाई अब आफैं नीति निर्माण गर्ने तहमा जानुपर्छ लागेर काठमाडौंको मेयरमा उम्मेदवारी दिएको उनले बताए ।

‘मलाई मेयरमा उठ्न कुनै रुचि थिएन । तर राजनीतिक पार्टीका उम्मेदवार देखेर दिक्क लागेपछि उम्मेदवारी दिएको हुँ’, उनी भन्छन्, ‘म तल्लो तहबाट काम गरेर आएको हुँ, अहिले पनि गरिरहेको छु । स्थानीय तहमा भिजेको हुनाले पनि मेयरमा उठेको हुँ ।’

उनले आफूले मेयरमा उम्मेदवारी दिनेबारे ढिलो गरी निर्णय गरेको र सार्वजनिक बहस तथा कार्यक्रममा सहभागी हुने मौका नपाउँदा धेरै मत आउन नसकेको बताए ।

‘वर्षौंदेखि काठमाडौंको हक हित र रक्षाका लागि लडिरहेको भएकाले ह्विम आयो भने जितिन्छ कि भन्ने लागेको थियो । तर मैले नजिते पनि परिवर्तनले जितेकामा खुसी छु’, उनी सुनाउँछन् ।

सायमीले काठमाडौंमा विगत १० वर्षदेखि चार मुद्दा उठाइरहेका छन् । ती चार मुद्दामा मौलिकता, सह-अस्तित्वको सम्मान, सन्तुलित वातावरण, शान्ति सद्‍भावसहितको समृद्धि र आत्मनिर्भरता रहेको सुमनको भनाइ छ ।

चुनाव जित्न नेताले ठूला सपना बाँड्नुनपर्ने बताउँछन् सायमी । ‘काठमाडौंलाइ यस्तो बनाउँछु उस्तो बनाउँछु भनेर गफ दिएर भोट आउने चलन हराउदै छ । हामीले भएका संस्कृति र सम्पदाको संरक्षण गरी व्यवस्थापन मात्रै गर्ने हो’ उनी सुनाउँछन् ।

उनको विचारमा काठमाडौंको धेरै ठूलो सपना छैन । मात्र शुद्ध हावा र पानी खान सकियोस्, फोहरमैलाको उचित व्यवस्थापन होस, हरियाली होस्, फुटपाथ राम्रो होस्, हरेक गल्लीमा एम्बुलेन्स पुगोस् ।

@onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?