प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै पूर्व अर्थमन्त्री एवम् सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) को तर्फबाट यो कुरालाई हामी गम्भिरतापूर्वक उठाएका छौँ । यसले देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरुमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरु गम्भिर अपराध मानिन्छन् । त्यसबारेमा छानविन हुनुपर्दछ । र संसदले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहान्छौँ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ । हाम्रो दलको तर्फबाट पनि हामी त्यो कुरा भन्न चाहान्छौँ
सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।





