प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताइन् । समितिको बैठकमा आइतबार छलफलका लागि बोलाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि सभापति खरेलले बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् ।
प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीलगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर आज बिहान मात्रै प्रधानमन्त्रीका स्वकीय सचिवले प्रधानमन्त्री बैठकमा नआउने जानकारी गराएका थिए ।
समिति सभापति खरेलका अनुसार आज बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको थियो ।
समितिलाई अपमान नै गरिएको भन्दै सभापति खरेलले भनिन्, ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ ।’





