पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा छ गरी २९ जनाको मृत्यु भएको छ ।दुवै निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।बर्दियामा चालु आर्थिक वर्ष २०७८र०७९ मा पाँच जना, ०७७र०७८ मा सबैभन्दा बढी १२ जना र ०७६र०७७ मा छ जना गरेर २३ जनाको ज्यान गएको छ । उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलोपटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताउनुभयो ।
बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरुङको भनाइ छ ।पछिल्ला केही वर्षदेखि बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ ।बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आवमा बाघको आक्रमण सबैभन्दा बढी भएको छ ।
वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ ।





