वर्षाका कारण डुबानमा परेका ९३४ जनाको उद्धार

अविरल वर्षाका कारण असार विभिन्न स्थानमा डुवानमा परेका करिब २८८ घरका करीब ९३४ जना व्यक्तिहरूको एकैदिन उद्धार गरिएको छ ।झापाको गौरीगञ्ज गाँउपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा हिजो मंगलबार माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नाका साथै डुवान प्रभावित घरका खाद्यान्न लगायत विभिन्न सामग्रीहरू समेत सुरक्षित स्थानमा सारेको बताइएको छ ।

यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका–२ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायत सामग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बीओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका–१ स्थित टाइगर टोलका डुवान प्रभावित १३० वटा घरका करिब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करिब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नाका साथै खद्यान्न लगायत सामग्रीहरू सुरक्षित स्थानमा सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?