तीन महिनादेखि सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी अस्पतालका डा साहलाई हटाउने तयारी

सशस्त्र प्रहरी निरीक्षक डा . सुजीतकुमार साहलाई गृह मन्त्रालयले सात दिने स्पष्टिकरण सोधेको छ ।सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी रहेका उनी तीन महिनादेखि सम्पर्कमा नरहेका बताइएको छ ।डा . साह वैशाख १३ गतेदेखि गैरहाजिर छन् । मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हाजिर नहुनुको कारणसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।

यसअघि पनि उनको स्थानीय ठेगानामा सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा। साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।त्यस्तै, असार २ मा गोरखापत्रमा पनि सूचना सार्वजनिक गरिएको थियो ।

सफाई पेश गर्न आग्रह गर्दा बेवास्ता गरेको जनाउँदै मन्त्रालयले हटाउने तयारी गरेको हो ।मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड ख १० बमोजिमको विभागीय सजाय किन नदिने भनी स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड ख १० मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?