अस्ट्रेलिया जान नेपाली विद्यार्थीलाई भिसामा कडाइ

अस्ट्रेलियाले पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई भिसा दिन कडाइ गरेको छ ।वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको अस्ट्रेलिया सरकारले कडाइ गरेपछि १० प्रतिशत विद्यार्थीले मात्रै भिसा पाउन सफल भएका छन् ।जबकी तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुमा दैनिक २ सय जनाको आवेदन पर्ने गरेको छ ।ति अधिकांश अस्वीकृत हुने गरेको बताइन्छ । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान ले अहिले दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको जनाएको छ ।

इक्यानका अनुसार प्रक्रिया खुकुलो हुँदा एक दिनमै भिसा दिने गरेको भए पनि अहिले भने लामो समय स्वीकृत वा अस्वीकृत भएको जानकारी नदिने तर एकैपटक अस्वीकृत भएको जानकारी आउने गरेको छ ।इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत हुने गरेको भन्दै शैक्षिक परामर्श व्यवासायी पनि चिन्तित बनेका छन् ।

अस्ट्रेलियाले भित्र्याउने विदेशी विद्यार्थीमध्ये नेपालबाट ३० प्रतिशत आपूर्ति गर्दै आएको छ ।अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जाने वैदेशिक मुलुकमा नेपाल तेस्रो नम्बरमा पर्छ । पहिलो र दोस्रो नम्बरमा क्रमशः भारत र चीन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?