कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन ।कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष आ.व २०७८र७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए । निर्देशनालयका अनुसार आव २०७८र७९ मा दैलेखमा मात्रै ५७८ र सुर्खेतमा ४०० बालबालिका कुपोषण लागेर अस्पताल भनाए भएका थिए । मुगुमा चालु आवमा ९१ बालबालिकामा कुपोषण देखिएको छ ।
जाजरकोटको बारेकोटमा मासिक आठदेखि १० बालबालिकामा कुपोषण देखिने गरेको छ । ‘गत वर्ष कुपोषणका कारण दुई जनाको ज्यान गयो’, बारेकोट लिम्सास्थित स्वास्थ्य संस्थाकी स्वास्थ्यकर्मी कल्पना रोकायले भनिन् ।कालिकोट, जाजरकोट, मुगुलगायत कर्णालीका बालबालिकामा कुपोषणबाहेक रक्तअल्पता, ख्याउटेपन र कम तौलको समस्या बढेको छ । कर्णालीमा १५ देखि ४९ वर्ष उमेरका ३५ प्रतिशत महिला र ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता भएको पाइएको छ । कम तौल ३६ प्रतिशत र ख्याउटेपन आठ प्रतिशत रहेको सन् २०१६ को नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेमा उल्लेख छ ।
बहुक्षेत्रीय पोषण योजनाका प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरका अनुसार २०८७ सालसम्ममा सबै स्थानीय तहलाई पोषणमैत्री बनाउने उद्देश्य राखिएको छ । छोराको आसमा धेरै सन्तान जन्माउने गरेका महिला र नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको उनी बताउँछन् ।कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँका ४८ प्रतिशत महिलामा रक्तअल्पताको समस्या छ । पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कम तौल र सुकेनासजस्ता समस्याबाट ग्रसित छन् । कर्णालीका २९।५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएको निर्देशनालयले जनाएको छ ।





