नाइरोबी फ्लाईं (एसिड बगको) संक्रमणबाट कसरी जोगिने

अफ्रिकी किरा नाइरोबी फ्लाई अर्थात एसिड बग नेपालका झापासहितका पूर्वी तराईमा देखा पर्न थालेको छ ।यसको शरीरमा हुने कडा एसिडका कारण मानिसको छालामा संक्रमण देखिन थालेको छ ।झापामा दिनहुँ सयौँको संख्यामा नाइरोबी फ्लाई किराको एसिडका कारण छालामा संक्रमण भएर उपचारका लागि आउने गरेको चिकित्सकहरु बताउँछन् ।झापाको दमक, बिर्तामोडका क्षेत्रहरुमा यस किरा तीव्र रुपमा फैलिएको बताइन्छ ।त्यस्तै, काठमाडौँमा पनि नाइरोबी फ्लाइ किराका कारण संक्रमण हुन थालेको छ ।

नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु किरा हो । विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ ।ति किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् । वर्षायाममा किराहरुको प्रजनन धेरै हुने भएकाले संक्रमणको जोखिम पनि रहने गर्दछ ।किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । विज्ञहरुका अनुसार यी किराले टोक्दैनन्, तर यदि कसैको छालामा त्यसलाई चलाएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्ल एसिड छोड्छ जुन छालाको लागि हानिकारक हो ।

यो किराको एसिड छालामा छोडियो वा किरालाई माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सकहरु बताउँछन् ।वास्तवमा किराको टोकाइले नभइ किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखाउने चिकित्सकहरुको भनाइ छ ।

हाल सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न भिडियोहरु भाइरल भइरहेको छ ।यद्यपि किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । घाउ देख्दा जनै खटिरा जस्तो ठूला ठूला फोका देखिए पनि आत्तिनु नपर्ने चिकित्सकहरुको भनाइ छ । यसले जटिलता ननिम्त्याउने बताइन्छ ।
यसको संक्रमण हो होइन भन्नलाई बायोप्सी गर्नुपर्ने वा लक्षणबाट पनि यकिन गर्न सकिने चिकित्सकहरु बताउँछन् ।तराईका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या बढ्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् ।

यद्यपि चिकित्सकहरुका लागि पनि यो नयाँ विषय भएको र अनुसन्धान भइरहेको बताइएको छ ।तर यदि किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउन सक्ने बताइन्छ ।त्यस्तै, संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।

अब कसरी जोगिने त

नाइरोबी किराहरु प्रकाशमा आकर्षित हुने भएकाले घना बस्ती भएका क्षेत्र प्रकाश झलमल्ल हुने सडक बत्तीहरु भएको क्षेत्रमा रहन्छन् ।सकेसम्म किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।यदि शरीरमा किरा बस्यो भने त्यसलाई नमार्ने अथवा थिच्ने नगर्ने फुकेर हटाउन सकिन्छ वा एकै झट्कामा हटाउँदा पनि हुन्छ । किरा बसेको ठाउँलाई ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई छुने गर्नुहुँदैन ।

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?