जनार्दन शर्मालाई छानबिन गर्ने संसदीय विशेष समितिको सभापति चयन हुँदै

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको दोस्रो बैठक बस्दैछ ।बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभा कक्षमा दिउँसो साढे २ बजे बस्ने भएको छ ।बैठकमा समितिको सभापति चयन हुनेछ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।

सत्तारुढ र प्रतिपक्षी दुवै दलबाट समितिको सभापतिको दावी गरिएपछि चयन प्रक्रिया लम्बिएको हो ।शर्मामाथि बजेट प्रस्तुत गर्ने अघिल्लो दिन अनाधिकृत व्यक्तिलाइृ संलग्न गराई बजेटमा करको दर हेरफेर गरेको भन्दै चर्को विरोध भएपछि छानबिनका लागि ११ सदस्यीय समिति गठन गरिएको हो ।

त्यसकै चर्को विरोधपछि शर्माले पनि राजीनामा दिएका छन् ।विशेष समितिमा एमालेका ४ जना खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, नेपाली कांग्रेस २ जना पुष्पा भुसाल र सीताराम महतो नेकपा माओवादीका २ जना देव ,गुरुङ र शक्ति बस्नेत , नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।विशेष समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?