चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्नाविहीन

वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् ।विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर इन्क्लोजर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो ।

सोमबार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्ना विहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान गरेको छ ।
लीयसअघि पनि एउटा अर्नालाई बाघ पसेर खाएको थियो । तत्कान समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन् । ती अर्ना मध्ये चारवटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएको थियो ।

संरक्षण आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए । गत आर्थिक वर्ष २०७८-७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए ।साउनदेखि मङ्सिर मसान्तसम्म ती अर्ना मरेका हुन् । छ भाले र चार पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ ।तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो ।निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोरइन्क्लोजर निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो ।

चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?