चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाएको छ । सोमवार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि सरकार र रिट निवेदकलाई भदौ २ गते बोलाएको हो ।
न्यायाधीश राउतद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा अन्तरिम आदेशको लागि मिति २०७९ भदौ २ गतेको पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिनू ।’ सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको छ ।





