प्रिमियरमा रुचाइयो ‘माइकल अधिकारी’, रेखा भइन् सृष्टिको फ्यान

यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माइकल अधिकारी’ले प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको छ । बुधवार गोपीकृष्ण मुभिजमा आयोजित प्रिमियरमा उपस्थिति राजनीतिज्ञ, चलचित्रकर्मी, मिडियाकर्मीहरुले चलचित्रको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे । चलचित्र सेरोगेसीको कथामा आधारित भएर निर्माण भएको हो ।

लामो समयपछि नेपाली चलचित्र हेरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नितान्त नयाँ कथावस्तुमा बनेको चलचित्रले मन छाएको प्रतिक्रिया दिए । उनले भने, ‘यो चलचित्रले समाजलाई सन्देशसँगै नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम दिनेमा विश्वस्त छु । चलचित्रले उठाएको कथावस्तु प्रशंसनीय छ । कलाकारको अभिनय पनि राम्रो लाग्यो । समग्रमा चलचित्र राम्रो बनेको छ ।’

पूर्व सञ्चारकर्मी तथा नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चलचित्र रमाइलो लागेको बताए । ‘माइकल अधिकारी’का निर्माता उद्दव पौडेलका ज्वाईं समेत रहेका उनले भने, ‘हेर्दा रमाइलो र इमोसनल छ । कलाकारको रुपमा सौगात मल्ल मलाई औधी मन पर्छ । अभिनयको पार्ट राम्रो छ । सृष्टि श्रेष्ठको अभिनय यसअघि हेरेको थिइनँ । यसमा उहाँको अभिनय राम्रो लाग्यो ।’

 

अभिनेत्री रेखा थापाले भने चलचित्र हेरेपछि आफू सृष्टि श्रेष्ठको ठूलो फ्यान भएको बताइन् । ‘सृष्टि मिस नेपाल हुँदा नै एकदमै मन परेको थियो । यो मान्छे चलचित्रमा आए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । लकडाउनको समयमा मैले प्रियंका कार्की र सृष्टिको एउटा सिरिज हेरेको थिएँ, त्यसपछि म सृष्टिको फ्यान भएको थिएँ । ‘माइकल अधिकारी’ हेरेपछि म सृष्टिको झन् ठूलो फ्यान भएँ,’ उनले भनिन् ।

चलचित्र हेर्दा सृष्टिको अभिनयले आफू तीनपटक रोएको बताउँदै रेखाले सृष्टिलाई सुपरस्टारको ट्याग समेत दिइन् । उनले सौगात मल्लको पनि आफू फ्यान रहेको बताइन् । उनले चलचित्रको कथावस्तुको प्रशंसा गर्दै अगाडि भनिन्, ‘चलचित्रको विषयवस्तु एकदमै राम्रो छ । चलचित्र हेरेपछि समाजको दृष्टिकोणमा परिवर्तन आउन सक्छ । हरेक सन्तान र बुबा,आमाले हेर्नुपर्ने चलचित्र बनेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?