दुबईमा श्रीमतीसँग रमाएका राजेश हमाल

कुनै समय एक घन्टा फुर्सद पाउनु पनि राजेश हमालका लागि ठूलो हुन्थ्यो । एउटै सेड्युलमा दुई(तीनवटासम्म फिल्मको छायांकन गर्थे उनी । तर, करिअरको उचाईंमा उनको जुन प्रकारको व्यस्तता थियो, अहिले पनि त्यस्तै छ । फिल्ममा काम नगरेको ४ वर्ष भए पनि उनको आम्दानी र व्यस्तता घटेको छैन । सांस्कृतिक कार्यक्रम, टीभी शो, म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ ।

पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ नराम्रोसँग डुबेपछि उनले करिअरमै पहिलो पटक सबैभन्दा लामो विश्राम लिए । चार वर्षको विश्रामपछि उनले लकडाउनको समयमा फिल्म ‘सत्यम्’ साइन गरेका थिए । तर, चरण(चरणको लकडाउन र फिल्मका अर्का नायक पल शाह एक घटनाका कारण थुनामा परेपछि फिल्मको निर्माण अनिश्चित बन्यो । अब फिल्म बन्छरबन्दैन, टुंगो छैन ।
‘सत्यम्’को निर्माण अनिश्चित बनेपछि हमालले गत साउनमा नयाँ फिल्म ‘मायाको माया’ साइन गर्दै कमब्याकको टुंगो लगाए । यो फिल्मको दुई साता वर्कसपमा बसेपछि उनी यसै साता श्रीमती मधु भट्टराईको साथमा दुबई भ्रमणमा निस्किएका छन् । त्यहाँ हुने एक सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी श्रीमती मधुसँग गएका हुन् । दुबईमा उनको बसाई एक हप्ता लामो हुनेछ ।

कुनै समय मोबाइल समेत नबोक्ने हमाल आजभोली आफ्नो दिनचर्यालाई फेसबुकमार्फत् देखाउँदै आएका छन् । उनले श्रीमतीसँग दुबई घुमघामका तस्विरहरु पनि फेसबुकमा राखेका छन् । तस्विरमा हमाल श्रीमतीसँग दुबईको सुन्दरतामा रमाइरहेका देखिन्छन् । दुबईबाट फर्केपछि उनी सद्गुरु जग्गी वासुदेवको अन्तर्वार्ता दिन भारत जानेछन् । त्यसपछि उनले फिल्मको सुटिङ थाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?