सुदर्शन थापा हिट चलचित्रहरु दिने निर्देशकको सूचिमा पर्छन् । ‘मेरो एउटा छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायत रोमान्टिक चलचित्रहरु निर्देशन गरेर अब्बल निर्देशकको छवि बनाएका थापा निर्देशित मेगा बजेटको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्र नयाँ कोर्समा अघि बढ्ने थापाको दाबी छ ।
सुदर्शन भन्छन्, ‘कन्टेन्ट मात्र पनि चलचित्र होइन । स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब चलचित्र बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । चलचित्र भनेको निर्देशकको भिजुअल इम्याजिनेशन हो । यसमा कन्टेन्ट, लोकेशन, छायांकन, साउन्ड सबै पक्ष पर्छ । हामीले कन्टेन्ट मात्रै भनिरहँदा मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको अर्थ रहँदैन । यस चलचित्रमा सबै पक्ष सुदृढ छ र भदौ १७ पछि नेपाली चलचित्रमा नयाँ युग सुरु हुन्छ ।’सम्हालिन्छ कहिले मन’ नेपाली चलचित्र मेकिङमा कोशेढुंगा सावित हुने उनको ढोकुवा छ । चलचित्रमा मेकअपम्यान, प्राविधिकदेखि कलाकारसम्म सबैले अलग ढंगले काम गरेको र नेपाली चलचित्र इतिहासको अहिलेसम्मकै उत्कृष्ट मेकिङ चलचित्रको मुख्य विशेषता रहेको सुदर्शनको कथन छ । यस चलचित्रले बलिउडका ए ग्रेडका चलचित्रहरुसँग प्रतिस्पर्धा गर्न सक्ने पनि उनले दाबी गरेका छन् ।
नेपाली चलचित्र मेकिङ पक्षमा चुकेकाले पनि दर्शकको साथ पाउन नसकेको उनको बुझाई छ । ‘अहिलेका मल्टीप्लेक्स पहिलेका सिंगल थिएटरको दाँजोमा स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले मेकिङ गर्नुपर्छ,’ सुदर्शन भन्छन्, ‘नेपाल र विदेशमा रहेका नेपालीभाषी, जो विगतमा नेपाली चलचित्र हेर्न आउँदैन थिए, यसपटक भने ‘सम्हालिन्छ कहिले मन’ हेर्न आउँछन् ।’त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र रहेकाले यसको प्रस्तुति दर्शकलाई फरक लाग्ने सुदर्शन बताउँछन् । ‘चलचित्र भनेको स्टोरी मात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन हो । त्यसैले यस चलचित्रको प्रेजेन्टेशनलाई दर्शकले निकै फरक पाउनुहुन्छ । चलचित्रलाई स्तरीय बनाउन हामीले मेकिङमा अति नै मिहेनत गरेका छौं । कलाकारको मिहेनत पनि प्रशंसायोग्य छ,’ उनले भने ।
पूजा शर्मा, सोनम तोप्देन, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य मुख्य भूमिकामा रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन छ । एवि इन्टरनेशनलले निर्माण गरेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह(निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।





