मोरङमा सनपाट खेती घट्दै, सिंचाई र बीउको अभाव

मोरङमा नगदे बालीको रूपमा चिनिने सनपाटको खेती घट्दै गएको छ ।सिंचाई असुविधा, मलखाद र बीउको अभावमा किसानहरू विस्तारै सनपाट खेतीबाट पलायन हुँदै गएका छन् । साथै सरकारले विराटनगर जुट मिललाई पुनस् सञ्चालन गर्ने भएको छ । त्यसैले यो भन्दा अगाडि जुट खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

सनपाट नगदेबालीको रूपमा परिचित छ । केही वर्ष अगाडि किसानहरूले यो खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आएका थिए । तर, पछिल्लो समय भने किसानहरूले सनपाट खेतीलाई घटाउदै लगेका छन् । अन्य खेतीको तुलनामा यो खेतीमा बढी मिहिनेत गर्नुपर्ने, खर्चिलो र झनझटिलो हुने गरेको किसानहरूको अनुभव छ ।

तर, मेहनत अनुसारको प्रतिफल नहुने भएकोले किसानहरू सनपाट खेतीबाट विस्थापित हुन थालेका हुन् । सिंचाईको व्यवस्था नहुनु, समयमा मलखाद र बीउ उपलब्ध हुन नसक्नु र मजदुर अभावले पनि किसानहरूले यो खेतीलाई घटाउदै लगेका हुन् । हिलोमा काम गर्ने मजदुर अभावसँगै समयमा उचित मूल्य नपाएकोले सनपाटको खेतीबाट किसानहरू निराश हुँदै गएका छन् ।

जुट तयार गर्ने काम निकै झन्झटिलो र खर्चिलो हुने गरेकोले किसानहरू सनपाटको खेती गर्न हिचकिचाउने गरेका छन् । पछिल्लो समय किसानहरू व्यवसायीक जुट खेती गर्नु भन्दा पनि घरायसी प्रयोजनमा प्रयोग हुने डोरी, नाम्लो, दाम्लो र अन्य घरायसी सामान बनाउन थालेका छन् । दाउराको रूपमा चुल्हो बाल्न प्रयोग हुने सन्ठीको लागि पनि सनपाट लगाउने गरेको देखिन्छ । सनपाट खेतीमा लाग्ने मेहनत र खर्च अनुसार आम्दानी नहुने भएपछि किसानहरू सनपाट खेतीलाई घटाएर यसको विकल्पमा धान र तरकारी खेतीलाई प्रोत्साहन गर्न थालेका छन् ।जुट खेतीले नगद आमदानी दिनुको साथै खेतलाई मलिलो बनाई उब्जाउ समेत बढाउने गर्छ । तर, व्यापारीहरूले किसानसँग कम मूल्यमा जुट खरिद गर्ने र बढी मूल्यमा बिक्री गर्ने गरेकाले पनि किसानहरू हतोत्साहित भएको देखिन्छ ।

मोरङ जुट उत्पादनमा अग्रणी जिल्लाको रूपमा चिनिन्छ । जुट उत्पादनको मुख्य क्षेत्र भएकाले देशकै पहिलो जुट उद्योग, विराटनगर जुट मिल्स यसै क्षेत्रमा स्थापना भएको थियो । अहिले पनि बिराटनगरमा बाबा जुट मिल लगायत जुट मिलहरू यसै क्षेत्रमा सञ्चालनमै रहेका छन् ।उद्योगलाई चाहिने कच्चा पदार्थको रूपमा आवश्यक पर्ने जुट खेती घटेकै कारण मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल बन्द हुन पुगेको छ । सरकारले विराटनगर जुट मिललाई पुनस् सञ्चालन गर्ने भएको छ । त्यसैले यो भन्दा अगाडि जुट खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?