दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्।उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको हो ।
मंगलबार बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उहाँले बताउनुभयो । गाडी मालिकको पनि खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।यता नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरूको संलग्नता नरहेको बताउनुभएको छ ।





