रविन्द्र मिश्रलाई ‘प्रकाश’ले रुवायो

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’लाई बलियो ‘वर्ड अफ माउथ’ मिलेको छ । दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुले फिल्म हेरेर प्रशंसा गरिरहेका छन् । यसैक्रममा, पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले पनि मंगलवार आज फिल्म हेरेर फेसबुकमा प्रशंसाको मीठो शब्द कोरेका छन् । उनले फिल्मले आफूलाई रुवाएको बताएका छन् ।

फिल्मका निर्देशक दिनेश राउत, निर्माता महेन्द्र अधिकारी, अभिनेत्री दीया मास्के र लेखक विकास सुवेदीसँग खिचेको एक तस्विर पोस्ट गर्दै मिश्रले लेखेका छन्, ‘फिल्म ‘प्रकाश’ले साँच्चिकै रूवाइदियो । आज म र मेरी श्रीमतीले ‘प्रकाश’ हेर्‍यौँ । म धेरै फिल्म हेर्ने मान्छे होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी फिल्म हेर्दा आँसु नै झारेर रोएको थिइनँ । ‘प्रकाश’ले हलमा रूवाइदियो ।’
काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चिममा टुकी बालेर स्कूलमा पढेको हुनाले पनि फिल्मका दृश्यहरुले आफ्नो भावनासँग बढी तादात्म्य राखेको हुनसक्ने उनको बुझाई छ । उनले फिल्ममा धेरै सन्देश रहेको पनि उल्लेख गरेका छन् । शहरमा हुर्केका, कर्णाली नदेखेका छोरा(छोरीलाई एकपटक फिल्म हेराइदिन पनि मिश्रले सबै बुबा(आमालाई आग्रह गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘गरिबी, माओवादी द्वन्द्व, समाज शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो, ‘प्रकाश’ । लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट फिल्म उत्कृष्ट छ । राम्रो र शक्तिशाली फिल्म बनाउन गीत र नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको उदाहरण हो ‘प्रकाश’ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?